महाराष्ट्रमा कसैले सरकार बनाउन सकेनन्, राष्ट्रपति शासन लागू

 कात्तिक २६, २०७६ मंगलबार १९:१०:५६ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ । गएको १५ दिनदेखि सत्ताका लागि उथलपुथल भए पनि कुनै पनि दलले बहुमत सिद्ध गर्न नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको हो ।

मंगलबार भारतका राष्ट्रपति रामनाथ कोबिन्दले महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले गरेको सिफारिसलाई अनुमोदन गर्नु भएको हो । राज्यपाल कोश्यारीले महाराष्ट्रमा कुनै पनि दल सरकार बनाउने अवस्थामा नरहेको भन्दै राष्ट्रपति शासन लागु गर्नु उत्तम विकल्प भएको भन्दै राष्ट्रपति कोबिन्दसँग अनुमति माग्नु भएको थियो ।

राज्यपाल कोश्यारीले भारतीय जनता पार्टी(बीजेपी), शिव सेना, नेसनलिस्ट कांग्रेस पार्टी(एनसीपी) लाई सरकार बनाउन मौका दिए पनि कसैले पनि बहुमत जुटाउन सकेनन् । सोमबार साँझसम्म दिइएको समयसीमाभित्र शिव सेनाले सरकार बनाउन नसकेपछि तेस्रो ठूलो दल एनसीपीलाई सरकार बनाउन मौका दिइएको थियो ।

एनसीपीलाई मंगलबार साँझसम्मको समय दिइएको थियो । बीजेपीले भने आफूले सरकार नबनाउने बताएको थियो ।

यस्तो छ महाराष्ट्रको गणित

२८८ सिट रहेको महाराष्ट्र विधानसभामा सरकार बनाउन १४५ सिट आवश्य हुन्छ । २४ अक्टोबरमा आएको चुनावी नतिजाअनुसार बीजेपीले १०५ सिटमा जित हात पार्दै ठूलो पार्टी बनेको थियो । त्यस्तै शिव सेनाले ५६ सिटमा जित हात पार्दा एनसीपीले ५४ सिट जितेको थियो । त्यस्तै कांग्रेसले ४४ सिटमा जित हात पारेको थियो ।

एनसीपीका नेतासँग छलफल गर्दै राज्यपाल भगतसिंह काेश्यारी

गठबन्धन बनाएर चुनाव लडे पनि मुख्यमन्त्री पदका विषयमा विवाद भएपछि शिव सेना र बीजेपीबीच सम्बन्ध बिग्रिएको हो । शिव सेनाका अध्यक्ष उद्धव ठाकरेले बीजेपीसँग मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको भन्दै बीजेपीले सहमति तोडेको आरोप लगाउनु भएको छ । 

शिव सेनाले एनसीपी र कांग्रेसकाे समर्थन जुटाउने अनेकाैँ प्रयास गरे पनि सफल भएन । 

भारतीय गृह मन्त्रालयका अनुसार महाराष्ट्र विधानसभा निलम्बित भएकाे छ ।

शिव सेना अदालतमा 

सरकार बनाउन समय नदिएको भन्दै शिव सेना सर्वोच्च अदालत पुगेको छ । शिव सेनाको तर्फबाट कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बल वकिल रहेका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया