बंगलादेशी राष्ट्रपति भक्तपुरमा (तस्बिरमा हेर्नुहोस्)

 कात्तिक २६, २०७६ मंगलबार १९:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चारदिने नेपाल भ्रमणमा आउनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै हेलिकप्टरबाट भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा अवतरण गर्नुभएको उहाँलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले स्वागत गर्नुभएको थियो ।

सल्लाघारीबाट दूधपाटी हुँदै भक्तपुर दरबार स्क्वायरसम्म कारगेडमा आउनुभएको थियो । भक्तपुर दरबारस्क्वायरमा उहाँलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला संग्रहालय, पचपन्ने झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरको अवलोकन गर्दै तौमडीस्थित पाँचतले मन्दिर परिषरमा पुग्नु भएको थियो । दरबार स्क्वायरमा नगरपालिकाले प्रस्तुत गरेको माक प्याख नाच, तौमढीमा प्रर्दशन गरेको देवी नाच, ख्याक नाचलगायत विभिन्न नाचहरु निकै अभिरुचिका साथ उहाँले अवलोकन गर्नुभयो ।

उहाँले सखिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गर्नुभएको थियो । हमिदसँगै बङ्गलादेशका प्रथम महिलासहित विभिन्न ५० जनाको प्रतिनिधि मण्डलले भक्तपुरको भ्रमण गर्नुभएको थियो ।

भक्तपुरका बासिन्दालाई हात हल्लाएर र नमस्कार गरेर अभिभादन गर्नुभएका राष्ट्रपति हमिदले भक्तपुरका कला सम्पदाहरुको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले बङ्गलादेशका राष्ट्रपति हमिदलाई भक्तपुरका कला र संस्कृतिका बारेमा जानकारी गराउनुभयो  । त्यसक्रममा हमिदलाई भक्तपुरको जुजु धौले स्वागत र भक्तपुरको प्रसिद्ध ‘मयूर झ्याल’ उपहार प्रदान गरी बिदाइ गरिएको थियो ।

भ्रमणका क्रममा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया