सरकारलाई डा.केसीको साथ, तर बढ्दैछ निजी मेडिकल कलेजमाथि दबाब

अनशन स्थगित गरेकोमा  केसीलाई सरकारको धन्यवाद !

 कात्तिक २६, २०७६ मंगलबार २०:४८:४० | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – सबैको ध्यान कालापानीमा सोझिएका बेला डा.गोविन्द केसीको १७औँ अनशन डडेलधुरामा थियो । अनशन थालेको दोस्रो दिनदेखि नै स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा.केसीतर्फ पनि ध्यान पुगेकै थियो । डडेलधुरामा डा.केसीका पक्षमा प्रदर्शनसमेत भयो ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टर डडेलधुरा पुग्यो । तर डा.केसीले फर्किन नमानेपछि स्वास्थ्य अवस्था बुझेर सेनाको हेलिकोप्टर रित्तै फर्कियो ।

डा.केसीको अनशन लम्बिदै जाँदा शिक्षा मन्त्रालयका अधिकारीबीच छटपटी सुरु भइसकेको थियो । यसबीचमा दैनिकजसो मन्त्रालयका अधिकारीहरुले डा. केसीको स्वास्थ्य अवस्था, डडेलधुरामा बढ्दै गएको प्रदर्शन र उत्पन्न परिस्थितिबारे नियमित रुपमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराइरहेका थिए ।

याे पनि पढ्नुहाेस्

औपचारिक रुपमै मन्त्री पोखरेलले डा. केसीलाई अनशन स्थगित गर्न आग्रहसमेत गर्नुभयो । तर उहाँले माग पूरा नभएसम्म अनशन स्थगित नगर्ने अडान दोहोर्‍याउनु भएकै थियो ।

अनशनको ९औँ दिन अर्थात मंगलबार दिउँसो अचानक डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर अनशन स्थगित गरेको घोषणा गर्नुभयो । सीमा मिचिएको गम्भीर घडीमा डा.केसीले आफ्नो अनशनभन्दा देशको एकतालाई ध्यानमा राखेर सत्याग्रह तोडेको डा.केसीका सहयोगी किशोर केसीले उज्यालोलाई जानकारी दिनुभयो ।

‘उहाँलाई यसअगाडि पनि भारतको हस्तक्षेप र मिचिएको सीमाबारे जानकारी थियो । तर आज उहाँ आफैले सीमा मिचिएको नक्सा हेर्नुभयो’, डा.केसीका सहयोगी किशोरले डडेलधुराबाट टेलिफोनमा भन्नुभयो, ‘राष्ट्रिय सीमा मिचिएका बेला व्यक्तिगत अनशन उपयुक्त नहुने भन्दै उहाँले स्थगित गर्ने निर्णय गर्नु भएको हो ।’

डा.केसीले अनशन मात्रै स्थगित गर्नु भएको छैन । देशको भूमि मिचिएका बेला सरकारलाई साथ दिनु भएको छ । साथै उहाँले सबैलाई एक भएर सीमा मिच्नेविरुद्ध लड्न सन्देश पनि दिनु भएको छ ।

‘राष्ट्रिय मुद्दामा डा.केसीले कहिल्यै सम्झौता गर्नु भएको छैन’, मेडिकल शिक्षाका अभियन्ता डा. जीवन क्षेत्रीले भन्नुभयो, ‘यसपटक सीमा जस्तो गम्भीर विषयका अगाडि व्यक्तिगत अनशन ठूलो नभएको भन्दै स्थगित गर्ने निर्णय गर्नु भएको हो । कसैको दबाब, आग्रह र प्रभावले अनशन तोड्नु भएको चाहिँ होइन ।’

यसअघि १६औँ अनशन बसिरहेका बेला सरकारले संसदबाट होहल्लाकाबीच चिकित्सा शिक्षा ऐन  बहुमतबाट पारित गरेपछि पनि डा.केसीले अनशन तोड्नु भएको थियो ।

अनशन स्थगित गरेकोमा सरकारको धन्यवाद 

भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेर नक्सा सच्याउन आग्रह गर्दै अनशन तोडेका डा.केसीलाई सरकारले धन्यवाद दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनसन स्थगित गरेकामा डा.केसीलाई धन्यवाद दिनुभयो ।

‘डडेलधुरा पुगेर अनशन सुरु गरेपछि हामीलाई चिन्तित बनाएको थियो । दैनिक रुपमा विवरण लिइरहेका पनि थियाैँ’, मन्त्रालयका प्रवक्ता शर्माले भन्नुभयो, ‘तर अचानक उहाँ आफैले अवस्था बुझेर अनशन स्थगित गर्नुभयो । डा.केसीलाई धन्यवाद छ ।’

याे पनि पढ्नुहाेस्

उहाँका अनुसार डा.केसीको अनशनलाई ध्यान दिएरै सरकारले निजी मेडिकल कलेजलाई १५ दिनको अल्टिमेटम दिएको, १५ दिनभरि अतिरिक्त शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन कार्यान्वयन गर्ने तयारी गरेको छ ।

‘निजी मेडिकल कलेजमाथि निरन्तर दबाब बढेको छ’, उहाँले भन्नुभयो, ‘डा.केसीको अनशन सुरु भएपछि हामीले गम्भीर रुपमा मेडिकल कलेजमाथिको नियमन अगाडि बढाएका छाैँ । तर अहिले सबै एक भएर सीमा मिचिएको विरुद्ध एकत्रित आवाज उठाउनु हो । यसमा डा.केसीको साथ पनि मिलेकाले हामीलाई पनि राहत मिलेकाे छ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया