प्रभावकारी भएन ‘पिक एण्ड ड्रप’ कार्यक्रम

 कात्तिक २७, २०७६ बुधबार ११:४९:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा सुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । महानगरपालिकाले गएको पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, जमलमा सुरु गरेको यो कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो ।  

कार्यक्रम सुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकले ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या जस्ताको तस्तै देखिन्छ ।  

आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुँदा काठमाण्डाै महानगरपालिकाले यस किसिमको व्यवस्था गरेको थियो । 

 

‘पिक एण्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ ।  यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ ।  काठमाण्डाैकाे मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डङ्गोलको भनाइ छ ।   

कार्यक्रम लागू भएपछि  त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डङ्गोलको दाबी छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ ।

काठमाण्डाै उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ । यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ । कार्यक्रम शुरुआतीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाण्डाै उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि सुरु गरेको स्थानहरुमा समेत प्रभावकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन ।

 

काठमाण्डाैमा कलङ्की, बालाजुचोक, चावहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवत–जावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टाैँ जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् ।  त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन ।  

गएको साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि यो कामले अहिलेसम्म गति लिनसकेको छैन । कामपाभित्र झण्डै एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । 

काठमाण्डाै महानगरपालिकाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकपनि रहेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया