पिपरा गाउँपालिका अध्यक्षमा सीके राउतको जनमत पार्टीबाट मण्डलको उम्मेदवारी

 कात्तिक २७, २०७६ बुधबार १६:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपचुनावमा डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ की अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको हो ।

उम्मेदवार मण्डल पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउनु हुँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गर्नुभयो ।

 

स्थानीय चुनावमा पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी(राजपा) बाट निर्वाचित विनोदकुमार चौधरीको निधनपछि अध्यक्ष पद रिक्त रहेको छ । 

राजपाले दिवंगत विनोदकुमार चौधरीकी पत्नी रबिता चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै केही दिनअघि नेकपा छाडेका रामजानकी यादवले समाजवादी पार्टीबाट उम्मेदवारी दिनु भएको छ ।

नेकपाले भने स्थानीय चुनावमा पराजित तत्काली एमालेका विक्रम चौधरीलाई नै उम्मेदवार बनाएको छ । गएको चुनावमा राजपाका चौधरीले २हजार ७ सय ७५ मत ल्याई विजयी हुँदा एमालेका उम्मेदवार विक्रमले १ हजार ८ सय ७३ मत ल्याउनु भएको थियो ।

त्यस्तै कांग्रेसले भने विजय यादवलाई उम्मेदवार बनाएको छ । राजपा र समाजवादी पार्टीले संयुक्त उम्मेदवार उठाउने भने पनि दुवै दलबाट उम्मेदवारी परेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया