लठ्याउने औषधि प्रयाेग गरेर आफन्तबाटै किशाेरी बेचिएकाे खुलासा: अभियुक्त पक्राउ

 कात्तिक २७, २०७६ बुधबार २०:२८:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - बान्ता नआउने औषधि भनेर लठ्याउने औषधी प्रयाेग गरेर एउटी १५ वर्षीया किशाेरी आठ वर्षअघि आफन्तबाटै बेचिएको खुलासा भएको छ । 

काठमाण्डाैको एउटा होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोटकाे सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ ९सुनिता तामाङ० भन्ने कृष्णमाया लामाले बालिकालाई पढाइदिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नै नजिकको नाता पर्ने बालिकालाई यसरी बेचेको खुल्न आएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । 

आरोपित लामालाई आठ वर्षपछि बुधबार प्रहरीले काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकामा रहेकाे देउवाचोकबाट पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका त्यसै ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार रहेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले जनाएको छ ।

‘उनले बालिकालाई घर जाने बहानामा बसमा चढाएर बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ’, प्रहरी उपरीक्षक थपलियाले भन्नुभयो ।

लामाले दोस्रो दिन त्यसै ठाउँको एउटा कोठी सञ्चालक लक्ष्मी र हेमालाई १० हजार भारतीय रुपैयाँमा बेचेको ब्यूरोले जनाएको छ । 

बालिकालाई कोठी सञ्चालकले झण्डै एक महिना कोठामा बन्धक बनाइ शारीरिक वृद्धिका लागि सुईको प्रयोग गरी औषधि खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसपछि  भारतको नयाँ दिल्लीमा रहेकाे कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखेर यौनधन्दामा लगाइएको थियो ।

त्यसै क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए । माइती नेपालले बालिकालाई कात्तिक २० गते ब्यूरोमा बुझाएको थियो । उनको जाहेरीका आधारमा प्रहरीले अभियुक्त लामालाई बुधबार पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया