सडक मिचेर बनाइएका घर नभत्काउँदा बनेन तामाकोशी पुल

 कात्तिक २९, २०७६ शुक्रबार १२:१२:५२ | उषा तामाङ
unn.prixa.net

दोलखा – भीमेश्वर नगरपालिका– ५ तामाकोशीमा सडक मिचेर बनाइएका बस्ती एक साताभित्र हटाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको कार्यकक्षमा बिहीबार बसेको बैठकले सडकको १५ मिटर क्षेत्रभित्र बनेका बस्ती नहट्दा २०७३ सालमा सम्झौता भएको पुल निर्माणको कामसमेत सुरु हुन नसकेपछि बस्ती हटाउन अन्तिम पटक अनुरोध गर्ने निर्णय गरेको हो ।

तामाकोशी नदी पार गर्नका निर्माण गरिएको पुल जीर्ण बनेपछि २०७३ साल भदौ ६ गते सडक विभाग पुल महाशाखा र निर्माण व्यवसायी निलगिरी नेश्नल जेभिबीच सम्झौता भएको थियो । त्यो समयमा ७५ मिटर लामो पुल करिब १० करोड रुपैयाँ लागतमा ‘डबल लेन’को आरसीसी आर्क पुल २०७५ भदौ ६ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

तर तामाकोशी बजारमा व्यवसाय गरिरहेका व्यापारीहरुले पुल बन्ने क्षेत्र खालि नगरेपछि निर्माण सम्पन्न गर्नुपर्ने मितिबाट थप एक वर्ष बितिसक्दासमेत पुलको जग हाल्ने काम पनि भएको छैन ।

सडक डिभिजन चरिकोटले घर टहरा हटाउन अनुरोध गर्दै पहिलो पटक २०७३ चैत ८ गते, दोस्रो पटक २०७५ पुस २३ गते १५–१५ दिनको समय दिएर सूचना प्रकाशन गरेको थियो भने २०७६ भदौ महिना यता तीन पटक गरी ५ पटक सूचना जारी गरिसकेको छ ।

तामाकोशी बजारबाट पवटी जाने खण्डको चरङ्गेसम्म वन क्षेत्रमा बनेका अनाधिकृत घरटहरा पनि यही समयभित्र हटाउन डिभिजन वन कार्यालय दोलखाले अनुरोध गरेको छ ।

दोलखा प्रवेशद्वारबाट जिरीसम्म सडक मिचेर बनाइएका बस्ती हटाउने

अरनिको राजमार्गअन्र्तगत लामोसाँघु जिरी सडक खण्ड अन्तर्गत दोलखा प्रवेशद्धारबाट जिरीसम्म सडक मिचेर बनाइएका घर टहरा हटाइने भएको छ । डिभिजन चरिकोटको कार्यक्षेत्रको सहायक राजमार्गको दायाँबायाँ १५/१५ मिटरको सडक सीमाभित्र बनाइएका तथा सार्वजनिक जग्गा, वन क्षेत्र र अन्य किसिमका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइने भएको हो ।

बैठकले अहिलेसम्म प्राप्त भएका सूचनाको आधारमा जिरी क्षेत्र, कालिञ्चोक गाउँपालिकाको कुरी क्षेत्र, भीमेश्वर नगरपालिकाको देउराली क्षेत्र, विगु गाउँपालिकाको सोरुङखोला क्षेत्र, कालिञ्चोक गाउँपालिकाको सोती बजार, स्याउली बजार क्षेत्र, गौरीशंकर गाउँपालिकाको गुरुम्फि क्षेत्र र शैलुङ गाउँपालिकाको भैँसे बजार क्षेत्रमा बनेका अनाधिकृत घर टहरालगायतका संरचना हटाउने निर्णय गरेको छ । बैठकले गरेका निर्णय सबै कार्यान्वयनमा आउने दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

बैठकमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया