पर्वतमा पहिरोले घर पुरिएर एक जनाको ज्यान गयो, चार जना सम्पर्कमा आए

 साउन २, २०७५ बुधबार ९:२१:२४ | सन्तोष थापा
unn.prixa.net

पर्वत – अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पर्वतको जलजला गाउँपालिका –८, लस्तीमा एक जनाको ज्यान गएको छ । 

मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिएर बमबहादुरका १६ वर्षीय छोरा विकास परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

पहिरोमा परि बेपत्ता भनिएका अन्य चार जनाले भने सोमबार बेलुका नै पहिरो आउँदैछ भनेर भागेको बताएका छन् । उनीहरु अहिले सम्पर्कमा आइसकेका छन् । 

पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन । 

त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् । स्थानीयहरुले घाइतेको उपचारका लागि लैजाँदै गरेको मिलन चोक प्रहरी चौकी इञ्चार्ज कृष्णबहादुर नेपालीले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया