सीमा मिच्न म सिपालु कि तपाईँ ?

 कात्तिक ३०, २०७६ शनिबार ९:८:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

भारतले फेरि सीमा मिच्यो । सुन्नेबित्तिकै तपाईँको र मेरो कन्सिरीको रौँ तात्यो । रगत उम्ल्यो । बुर्कुसी मार्दै सीमा छेउ पुगेर जङ्गे पिल्लरलाई अँगालो हाल्दै झण्डा फहराउन मन भैसक्यो । तर पुग्न सकेको छैन । भ्याएको छैन ।

सीमामै पुग्न नसके पनि तपाईँ आफ्नै छेउछाउको सडकमा बुरुकबुरुक उफ्रिरहनुभएको छ । म सिरकभित्रै बसेर भारतविरुद्ध फेसबुकमा स्टाटस ठोकिरहेको छु । जे होस्, केही न केही गरेर तपाईँ र मैले राष्ट्रियता पोखिरहेका छौँ ।

सरकार र दलहरु पनि चुप बसेका छैनन् । घुटुघुटु मिनरल वाटरको पानी पिएर कालापानी हाम्रै हो भनिरहेका छन् । डराइडराइ विज्ञप्ति लेखिरहेका छन् । आमचुनाव भएको भए भोट माग्ने मसला मिलिसकेको थियो । तर केही छैन, अर्को पटकलाई पनि यही मसलाले काम दिन्छ भन्नेमा नेताहरु मख्ख छन् । सितिमिति सीमा विवाद सल्टिँदैन भनेर ढुक्क छन् ।

तपाईँ र मलाई पनि राम्रोसँग थाहा छ, छिमेकीको जात नै यस्तै हो । देशको छिमेकी होस् या तपाईँ र मेरो घर छेउको छिमेकी, सीमा मिच्न सबै खप्पिस । तपाईँको छिमेकी म, मेरो छिमेकी तपाईं । अब राष्ट्रियतालाई एकछिन बिसाएर तपाईं र मेरो कुरा गरौं । तपाईँ र म आआफ्नो ठाउँमा साँध सीमा मिच्न सिपालु छौँ । अर्कोले सीमा मिचेको पनि देखेभोगेकै छौँ ।

पत्यार लाग्दैन भने हेर्न हिँड्नुहोस् । सबैभन्दा पहिले सडकको फुटपाथतिर लागौँ । फुटपाथ कसको ? तपाईँ भन्नुहोला बटुवाको । तर हैन, कुनै फुटपाथ पसलेको हो । अनि कुनै चाहिँ मोटरसाइकल चढ्ने र मोटरसाइकल बनाउनेको हो ।

पसलेको कुरा गरौँ । उसलाई आफ्नो पसलभित्र मात्र सामान राखेर चित्त बुझ्दैन । उसलाई लाग्छ पसल अघिल्तिरको फुटपाथ, त्यो मुन्तिरको सडक र सडक पारिसम्म आँखाले देख्ने ठाउँ मेरै हो । त्यसैले उसले पसल अघिल्तिरको फुटपाथसम्मै सामान राख्छ । कसैकसैले त फुटपाथबाट पनि ओर्लेर सडकसम्मै सामान फिँजाउँछन् । आफ्नो पसल अघिल्तिरको फुटपाथ र सडकको सीमा नमिच्दासम्म उसको चित्तै बुझ्दैन ।

मोटरसाइकल चलाउनेलाई हेर्नुहोस् । सडकमा अलिकति जाम हुनेबित्तिकै फुटपाथमा मोटरसाइकल उकाल्छ । अनि हिँडिरहेको मान्छेलाई तर्साउँदै टाँटाँ र टीँटीँ गर्दै मोटरसाइकल हुइँक्याउँछ । अनि त्यही फुटपाथमा मोटरसाइकल तेर्साएर पार्किङ गर्छ र चुरोट किन्न पसल छिर्छ ।

मोटरसाइकल चलाउनेभन्दा मोटरसाइकल बनाउने झन् ठूलो । ठूलो र बलियो भएपछि त्यसै चुप लागेर बस्ने कुरो भएन । उसले पनि फुटपाथकै आडमा वर्कशप खोल्छ । काम चाहिँ वर्कशप अगाडिको फुटपाथ र सडक छेउमा बसेर गर्छ । हावा भर्ने पाइप तन्काएर सडकको बीचसम्मै पुर्याउँछ । अनि फुटपाथ र मुन्तिरको सडक छेउमा थोत्रा मोटरसाइकल लडाएर राख्छ । त्यहीँ नटबोल्ट खोलेर मोटरसाइकल वल्टाइपल्टाइ गर्छ । वर्कशप आफ्नो भएपछि अघिल्तिरको फुटपाथ र सडक पनि आफ्नै । जस्ता पसले, उस्तै वर्कशपवाला । फुटपाथ र सडकको सीमा मिच्न दुवै खप्पिस ।

फुटपाथका पसले, मोटरसाइकल र वर्कशपवालालाई छल्दै खुलामञ्चतिर लागौँ । भारतले सीमा मिचेको भन्दै तपाईँ र म बुरुकबुरुक उफ्रने खुलामञ्च हेर्नुस् त । हेर्दाहेर्दै अब उभिने ठाउँ पनि बाँकी नरहने अवस्थामा पुगिसक्यो । एउटा कुनातिरबाट सरकारले मिच्यो, अर्को कुनातिरबाट सेनाले मिच्यो । कतै महानगरले मिच्यो, कतै व्यापारीले मिचे । देशको सीमा मिचिएकोमा विरोध गर्दै उफ्रने ठाउँ खुलामञ्चकै सीमा मिचियो ।

अझ भारतसँग सीमा विवादबारे वार्ता गर्नुपर्छ भनेर निर्णय भएको ठाउँ बालुवाटार हेर्नुहोस् । त्यहाँको त सीमा मिचिएर टार सकिन लाग्यो, अब बालुवा मात्रै बाँकी छ ।

सिंहदरबार पस्नेले बालुवाटार पुगेर सीमा मिचे । सिंहदरबार पस्न नसक्नेले खुलामञ्चको सीमा मिचे । बालुवाटार र खुलामञ्च मिच्न नसक्नेले खोलानदीको सीमा मिचे । खोलाको सीमा नाघेर बीचमै घर ठड्याए । वर्षामा एकपटक खोला आफ्नो सीमा खोज्दै आउने हो । नत्र अरु बेला न खोलाले विरोध प्रदर्शन गर्छ, न खोला जोगाउँछु भन्नेले नै आवाज उठाउँछ ।

खोला र नदीको सीमा मिच्न नसक्नेले चाहिँ छिमेकीका सीमा मिच्छन् । छिमेकीले नदेख्ने गरी साँधको ढुंगो पर सार्छन् । आँठा काटेर सम्याउँछन् । पर्खाल भत्काउँछन् । साँधमै रुख रोप्छन् । घाँस आफूलाई, सेप उसलाई बनाउँछन् । घर बनाउँदा एक इञ्च नै भए पनि साँध नचेप्दासम्म चित्त बुझ्दैन । सकेजति सबै गर्छन् । घर बनाउने बेला उसैगरी बालुवा, इँटा, ढुंगा थुपारेर सडकको सीमा मिच्छन् ।

घरजग्गा, बाटोघाटोको सीमा मिचिएको कुरा छाड्नुहोस् । सबैतिर सकेजति सीमा मिच्ने बानी नानीदेखि नै लागेको हुन्छ, तपाईँलाई पनि मलाई पनि । सानामा सर, मिस र बाआमाले नैतिक शिक्षा र अनुशासन घोकाए । तर अनुशासनलाई आफ्नै शासन ठानेर हामीले नैतिकताको सीमा नाघ्यौँ, मिच्यौँ ।

नैतिकता र मर्यादाको सीमा नाघेको कुरा कुरा सबैलाई भन्न मिल्दैन । आत्मकथामा चाहिँ लेख्न मिल्छ । सानो छँदा मैले पल्लोघरको सुन्तला चोरेको थिएँ । तल्लोघरकीलाई जिस्क्याएको थिएँ । माथ्लोघरको बालाई नदेख्नेगरी ढुंगाले हानेर भागेको थिएँ । ठूलाबडाले लेखेको आत्मकथा पढ्नुहोस् त । यति लेख्दा त केही हुन्न भनेर मिल्ने जति मात्र लेखेका हुन् । भन्नै नमिल्ने, लेख्नै नमिल्ने गोप्य कुरा अझ कति होला । तपाईँ र मैले यसरी नैतिकता र मर्यादाको सीमा मिचेको विरोध चाहिँ कसले गर्ने ? न तपाईँले मेरो विरोध गर्न मिल्यो, न मैले तपाईँको ।

फुटपाथको सीमा मिच्ने पसलेले सडकको सीमा मिच्ने गाडीवालाको विरोध गर्न मिलेन । सडकको सीमा मिच्ने वर्कशपवालाले खुलामञ्चको सीमा मिच्ने व्यापारीको विरोध गर्न भएन । खुलामञ्चको सीमा मिच्नेले बालुवाटारको सीमा मिच्नेको विरोध गर्न सुहाएन ।

अनि तपाईँले नैतिकताको सीमा मिच्दै उपद्रो गरेको कुरा अर्को उपद्रो गर्ने मैले भन्न पनि मिलेन । लेख्दै जाँदा मैले सीमा मिचेको कुरा तपाईँले थाहा पाउने डर ! पढ्दै जाँदा आफूले सीमा मिचेका धेरै कुरा तपाईँले सम्झने डर ! त्यसैले यो व्यङ्ग्यको सीमा पनि योभन्दा धेरै नमिचौँ है त !

अन्तिम अपडेट: मंसिर १७, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया