देशलाई ऋणको मारबाट मुक्त गराउन करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको हो : अर्थमन्त्री खतिवडा

 मंसिर १, २०७६ आइतबार १३:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले देशलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताउनु भएको हो । उहाँले देशलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक दोहोर्‍याउनु भयो ।

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौँ’ कर दिवसको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘अत्याधिक ऋणको चापले देश संकटमा फस्ने हुनाले आफूले देशको दीर्घकालीन हितका लागि करसम्बन्धी अलोकप्रिय निर्णय लिनु परेको हो ।’

अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्ट्याउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई देशप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहोर्‍याउनु भयो । उहाँले देशको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको देशको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया