पोल हराएको विवादले ९ वर्षदेखि विद्युत विस्तार आयोजना अलपत्र

 साउन २, २०७५ बुधबार ११:२४:३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– स्थानीय बासिन्दा र ठेकेदार कम्पनीबीच पोल हराएको विषयमा भएको  विवादका कारण रामेछाप र ओखलढुंगा जोड्ने विद्युत् विस्तार आयोजना नौ वर्षदेखि अलपत्र परेको छ । 

रामेछापको साँघुटारदेखि ओखलढुंगा सदरमुकाम जोड्ने साँघुटार–ओखलढुंगा ३३ केभी केन्द्रीय विद्युत् प्रशारण आयोजना पोलको विषयमा सुरु भएको विवाद समाधान नहुँदा आयोजना नै अलपत्र परेको हो । 

तत्कालीन समयमै साँघुटारदेखि घोराखोरीसम्मको १० किलोमिटर क्षेत्रमा गाडिएको पोल हराएको विषयमा स्थानीय र ठेकेदार कम्पनी न्यू साताक्री कन्ट्रक्सनबीच विवाद बढेको थियो । ठेकेदार कम्पनीले त्यस क्षेत्रमा पोल गाडिएको र बीचका केही क्षेत्रको पोल स्थानीयले उखेलेर माइक्रोहाइड्रोमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।  

स्थानीयले भने ठेकेदार कम्पनीले नै पोल नगाडी आफूहरूमाथि आरोप लगाएको दावी गर्दै आएका छन् । घटनाको छानबिन र समस्या समाधानका लागि सरकारी निकायकोले चासो नदिएपछि आयोृजना अलपत्र हुँदा यहाँका नागरिकको बिजुली बाल्ने ९ वर्षदेखिको सपना अधुरै छ ।  २०६६ सालमा सुरू भएको आयोजनाले विवादका कारण गति लिन सकेको छैन । 

१३ करोड लागत अनुमानमा सुरू गरिएको त्यस आयोजना विद्युत प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयले ठेक्का लगाएको थियो । आयोजनाको कुल लम्बाई ४० किलोमिटर रहेको छ । विवाद बढेपछि आयोजना क्षेत्रका साँघुटार–रानीवन क्षेत्रमा गाडिएका पोल तथा टाँगिएको तार अलपत्र अवस्थामा छ । गाडिएका अधिकांश पोलहरू ढलेका छन् । ‘ठेकेदार र स्थानीयबीच विवाद बढेपछि दुई वर्षदेखि कामको टेण्डर नै हुन सकेको छैन’, नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्र रूम्जाटारका प्रमुख संञ्जिव शाहले भन्नुभयो, ‘हामी चाँडो विवाद सल्टाएर काम अगाडि बढाउनका लागि प्रयास गरिरहेका छौँ ।’

जिल्लाको ओखलढुंगा सदरमुकाममा भने खोटाङतर्फबाट केन्द्रीय विद्युत प्रशारण लाइन सञ्चालन गरिए पनि भरपर्दो छैन । २०५७ सालबाट सुरू भएको बुइपा–ओखलढुंगा ३३ केभी प्रशारण लाइन आयोजना दुई वर्ष अघिदेखि नै सञ्चालनमा आए पनि उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको भागमा विद्युत् अवरोध भइरहने र बिग्रिरहने समस्या छ । लामो दूरी र जंगलको बीचबाट ल्याइएका कारण बिग्रिरहने समस्याले खोटाङको बुइपाबाट सञ्चालन गरिएको केन्द्रीय प्रशारण लाइनले यहाँका उपभोक्तालाई भरपर्दो सुविधा दिन सकेको छैन । 

ग्रामीण विद्युतीकरणमा समस्या 

हालसम्म जिल्लामा ४० प्रतिशत क्षेत्रमा मात्रै केन्द्रीय विद्युत प्रशारण लाइन जोड्नका लागि काम भइरहे पनि ग्रामीण विद्युतीकरणको काम सुस्त गतिमा छ । विद्युत विस्तार गर्नका लागि सुरूवात गरिएका क्षेत्रहरूमा ग्रामीण विद्युतीकरणको काम अलपत्र छ ।

जिल्लाका धेरैजसो भेगमा विद्युत विस्तारका लागि पोल गाडिएपनि विद्युत कार्यालयले मिटरबक्स वितरणमा ढिलाई गर्दै आएको छ । जिल्लाको पश्चिमी भेगको रानीवनमा विद्युत विस्तारका लागि तार, पोल र ट्रान्समिटरको काम पूरा भए पनि विद्युत कार्यालयले मिटरबक्स उपलब्ध नगराउँदा ६ महिनादेखि एउटै वडाका ५ सयभन्दा बढी बासिन्दा केन्द्रीय विद्युत सेवा उपभोगबाट बञ्चित भएको चम्पादेवी गाउँपालिका वडा नं. १० का वडाध्यक्ष उज्जन बुढाथोकीले बताए । अन्य क्षेत्रको अवस्था पनि उस्तै छ । 

स्थानीय उत्पादन प्रभावित  

केन्द्रीय प्रशारण लाइन भरपर्दो नहुँदा हालै सञ्चालनमा आएको मोलुङ हाइड्रो प्रभावित बनेको छ । ७ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको हाइड्रोको उत्पादन गोरूमारेभञ्ज्याङ सब स्टेशनबाट जोडिए पनि केन्द्रीय विद्युत प्रशारण लाइनमा आइरहने खराबीका कारण प्रभावित बनेको हो । केन्द्रीय प्रशारण लाइनको जलजले–बुइपा खण्डमा खराबी आउँदा हाइड्रोबाट उत्पादित विद्युत जिल्लाभित्र वितरण गरिँदैन ।

जिल्लामा साँझपखको मुख्य समयमा ५ सय किलोवाट मात्रै विद्युत खपत हुने गरेको छ । विद्युत खपत थोरै भएका कारण केन्द्रीय प्रशारण लाइनमा खराबी आउँदा जिल्लाभित्र लाइन काट्ने गरिएको नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्र रूम्जाटारका प्रमुख शाहले बताउनुभयो । उत्पादन र खपतको सन्तुलन नमिल्दा सबस्टेशन र हाइड्रोका मेसिनहरू पड्किने संभावना हुने उहाँको भनाई छ । 

अन्तिम अपडेट: चैत २, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया