कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई फिर्ता ल्याउने पहल गर्न सरकारलाई निर्देशन

 मंसिर १, २०७६ आइतबार १७:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता ल्याउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरिबाना तिरेर भए पनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।

थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिबाना तिरेर नेपाल फर्काउन सकिने कुवेतमा रहेकाे नेपाली दूतावासको भनाइ छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पुर्‍याउने म्यानपावर कम्पनीमाथि पनि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ ।

यता, सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताउनु भयो । उहाँले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिबाना मिनाहा गर्न कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको पनि जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

समितिका सदस्यहरुले नेपाली कामदारहरुलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लग्ने म्यान पावर कम्पनीको छानवीन गरी कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका थिए । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया