सूचना प्रविधिमा अवसर: घरमै बसीबसी डलर

 मंसिर १, २०७६ आइतबार १७:५५:३९ | टेकमान शाक्य
unn.prixa.net

गोरखाको शहीद लखन गाउँपालिका ८ का केदार अधिकारी १० वर्षअघिसम्म पोखरामा कम्प्युटर इन्स्टिच्युट र साइबर चलाएर बस्नुहुन्थ्यो । कम्प्युटरसम्बन्धी काम बढ्दै गएपछि ल्यापटप किन्नुभयो । ल्यापटप त किनियो, तर यसको सदुपयोग कसरी गर्ने भन्नेमा उहाँलाई अलमल भयो । त्यतिबेला अहिलेजस्तो इमेल, इन्टरनेट, यूट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल सबैका पहुँचमा पुगिसकेको थिएन ।

सबैको हातहातमा मोबाइल, कम्प्युटर र ल्यापटप पनि थिएन । सानैदेखि जिज्ञासु स्वभावका अधिकारीले ल्यापटपमा घण्टौँ समय बिताउन थाल्नुभयो । वेबसाइट के हो, वेबसाइटबाट कसरी पैसा कमाउने, कसरी इन्टरनेटलाई प्रयोग गर्ने जस्ता जिज्ञासा मेटाउन ‘गुगल सर्च’ गर्नुभयो ।

धेरै समय इन्टरनेटमै बित्न थाल्यो । इन्टरनेट हेर्दाहेर्दै वेबसाइट डिजाइन लगायत धेरै कुरा सिक्नुभयो । कुनै ‘इन्ष्टिच्युट’ मा गएर औपचारिक शिक्षा नलिएका उहाँले यूट्युब हेरेरै वेबसाइट डिजाइनको काम गर्न जान्नुभयो । 

त्यसपछि उहाँलाई काम र दामको खाँचो भएन । झण्डै आठ वर्षदेखि वेबसाइट डिजाइनको काम थालेका  केदारले सुरुमा अरुको काम गर्नुभयो । त्यतिबेलै उहाँको कमाई महिनाको ५० हजार रुपैयाँसम्म थियो । दुई वर्षदेखि उहाँले गोजी सोलुसन प्रा.लि. नामको आफ्नै कम्पनी दर्ता गरेर काम गरिरहनुभएको छ ।

यसबीचमा उहाँले १ सय ५० भन्दा धेरै वेबसाइट बनाइसक्नुभएको छ । कामअनुसार आम्दानी बढिरहेको छ । महिनाको एकदेखि डेढलाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । 

विदेशबाट पनि उत्तिकै काम आउँछ । गोजीमा नेपाली रुपैयाँभन्दा डलर धेरै हुन्छ ।

अधिकारीका अनुसार यो क्षेत्रमा काम गर्न चाहनेले धेरै लगानी गर्नुपर्छ भन्ने छैन । सीप र संघर्ष गर्ने क्षमता छ भने घरमै बसीबसी एउटा ल्यापटपको भरमा इन्टरनेटबाट राम्रो कमाई गर्न सकिन्छ । 

उहाँ भन्नुहुन्छ, ‘भविष्यमा केही गर्छु भन्नेहरुका लागि सूचना प्रविधि अर्थात आईटी क्षेत्र कम लगानीमा निकै सम्भावना बोकेको क्षेत्र हो । जागिर नै खानुपर्छ भन्ने छैन, सीप हुनेले स्वतन्त्र भएर पनि काम गर्न सक्छन् ।’  

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेका प्रकाश खतिवडा पनि झण्डै १२ वर्षदेखि सूचना प्रविधि (आईटी) क्षेत्रमा आबद्ध हुनुहुन्छ । काठमाण्डौलाई कर्मथलो बनाएका खतिवडा सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि एसईओ (सर्च इन्जिन अप्टिमाइजेशन)मा विशेष दख्खल राख्नुहुन्छ । 

‘एसईओले कुनै एउटा वेबसाइटमा बसेर ब्राण्ड मार्केटिङको काम गर्छ । डिजिटल मार्केटिङले चाहिँ वेबसाइट सँगसँगै सोसल मिडिया, प्रिन्ट मिडिया, टेलिभिजन तथा अन्य माध्यमबाट प्रयोगकर्तालाई कसरी आकर्षण गर्न सकिन्छ भनेर जोड दिन्छ । यी काममा मानिसको आकर्षण बढ्दो छ । तपाईँसँग रुची छ भने सजिलै एसईओ र डिजिटल मार्केटिङसम्बन्धी काम गर्न सकिन्छ ।’ खतिवडा थप्नुहुन्छ, ‘यो क्षेत्रमा मन लागेर काम गर्नेका लागि राम्रो भविष्य छ, कमाई र नाम दुवै भएकोले आईटी क्षेत्रमा प्रवेश गर्न म सल्लाह दिन्छु ।’ 

एसईओमा नै झण्डै १० वर्षको अनुभव बटुलेका खतिवडाकाअनुसार आईटी क्षेत्रमा पनि एसईओ र डिजिटल मार्केटिङ धेरैको रोजाईमा पर्ने गरेको छ ।
उहाँले अहिले दुबई, अष्ट्रेलिया, क्यानडा लगायत देशका परियोजनामा काम गरिरहनुभएको छ । वेबसाइट डिजाइन मात्रै नभई इन्स्ट्यान्ट आर्टिकल, यूट्युब लगायतबाट पनि राम्रो आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । ‘सूचना प्रविधिको कामले घरमै बसेर डलर कमाउन सकिन्छ’ खतिवडाले आफ्नो अनुभव सुनाउनुभयो ।

केदार अधिकारी र प्रकाश खतिवडाजस्तै नेपालमा अहिले झण्डै १० हजारको हाराहारीमा ‘वेब डिजाइनर’ र ‘वेब डेभलपर’हरु छन् । देश विदेशका परियोजनामा काम गरेर उनीहरले राम्रो कमाइ गरिरहेका छन् ।

अवसर र आम्दानी राम्रो, तर जनशक्ति अभाव

अवसर र कमाइ प्रशस्त भए पनि ‘वेब डेभलपिङ’ र ‘डिजाइनिङ’मा काम गर्ने जनशक्ति भने कम छ । वेबसाइटसम्बन्धी काम गर्ने संस्था सफ्टनेपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल रिजाल भन्नुहुन्छ, ‘अवसर भए पनि यो क्षेत्रमा काम गर्ने मान्छेहरु निकै कम छन्, जनशक्ति नभएर बाहिरबाट प्रशिक्षक मगाउनुपर्ने अवस्था छ ।’

सफ्टवेर डेभलपिङ र वेब डिजाइन गर्न सक्नेले बेरोजगार भएर बस्नु पर्दैन । अहिलेसम्म १ हजारभन्दा धेरै वेबसाइट डिजाइन गरिसकेको सफ्टनेपका सीईओ रिजाल भन्नुहुन्छ, ‘संघर्ष गर्न सक्नेले नेपालमा मनग्य कमाई गरिरहेका छन्, पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । अहिले नेपालमा जनशक्ति नभएकाले भारत लगायत देशबाट मगाउनुपर्ने बाध्यता छ ।’

विदेशी कम्पनीको लागि सफ्टवेयर निर्माण र वेब डिजाइनिङ गर्ने कम्पनीहरु पछिल्लो समय बढिरहेका छन् । सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेका भारत र चीनको बीचमा रहेकोले पनि नेपालमा सूचना प्रविधिको राम्रो सम्भावना र बजार रहेको यस क्षेत्रका जानकारहरु बताउँछन ।

निजी क्षेत्रका विभिन्न संस्थाले गरेको अध्ययनले बर्सेनि करोडौं डलरको ‘आईटी प्रडक्ट’ निकासी हुन्छ । नेपालबाट भारत लगायत युरोपेली देश, अमेरिका, अष्टेलिया, जापान लगायत देशमा ‘आईटी प्रडक्ट’ निकासी हुने गरेको छ ।

विदेशको पैसा नेपाल भित्र्याउन विदेश नै जानुपर्छ भन्ने बाध्यता यो क्षेत्रमा छैन । विदेशी कम्पनीका लागि सफ्टवेयर डेभलपिङ र वेब डिजाइनिङ गरेर थोरै लगानीमा पनि धेरै कमाउन सकिन्छ । नेपालमा विभिन्न कार्यालय र व्यक्तिगत प्रयोजनको लागि मात्रै नभएर विदेशमा समेत निकासी हुने भएपछि यसमा रोजगारीको राम्रो अवसर छ ।  

तपाईँ बेरोजगार भएर त्यत्तिकै बसिरहनुभएको छ र काम खोजिरहनुभएको छ भने सूचना प्रविधिको क्षेत्र राम्रो विकल्प हुन सक्छ । ‘यससम्बन्धी तालिम दिने संस्थाहरु पनि छन्, तर तपाईँ आफैँले इन्टरनेटमा खोजेर पनि सूचना प्रविधिसम्बन्धी जानकारी लिन र यसलाई कमाइको स्रोत बनाउन सक्नुहुन्छ’, सफ्टनेपका रिजाल भन्नुहुन्छ, ‘तर यसका लागि गहन अध्ययन, संघर्ष र धैर्यता चाहिँ चाहिन्छ ।’

अन्तिम अपडेट: चैत ४, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया