पूजा बोहोरालाई बलात्कार गर्ने २ जनालाई साढे ११ वर्ष जेल

 मंसिर २, २०७६ सोमबार १९:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सर्वोच्च अदालतले बैतडीकी पूजा बोहरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष कैद सजाय तोकेको छ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै सागर भट्ट र अमर अवस्थीलाई साढे ११ बर्षको कैद सजाय तोकेको हो । सजाय निर्धारणका लागि सोमबार बसेको इजलासले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसला गरेको छ ।

पीडित बोहोराको शिक्षा, स्वास्थ्य र मानसिक रुपमा समेत क्षति पुगेको भन्दै सर्वोच्च अदालतले पूजा बोहराको नयाँ जीवन सुरुवातका लागि १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

फैसलामा पीडक दुई जनालाई पाँच लाख रुपैयाँ भराउन आदेश दिइएको छ । त्यस्तै आदेशमा क्षतिपूर्तिस्वरुप पाँच लाख रुपैयाँ दिन सरकारलाई आदेश दिइएको छ । फैसलामा पीडकले क्षतिपूर्ति भराउन नसकेमा सरकारबाटै क्षतिपूर्ति भराउन भनिएको छ । त्यसका लागि क्षतिपूर्ति निर्धारण प्रतिवेदन बनाउने अधिकृत तोक्न पनि सरकारलाई आदेश गरेको छ ।

२०६८ सालको चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारमा पुगेकी बोहोरा गेसपेपर किन्न पसल गएको बेला बलात्कारमा परेकी थिइन् ।

जिल्ला अदालत बैतडीले २०६९ फागुन २२ गते सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गर्दै बलात्कार गरेकोमा ८ वर्ष तथा सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो । तर पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ वैशाख १५ गते जिल्ला अदालतको निर्णय उल्टाउँदै भट्ट र अवस्थीलाई सफाइ दिएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया