सभामुखको जिम्मेवारी राम्रोसँग निभाउन सक्छु

 मंसिर ३, २०७६ मंगलबार ८:२७:४५ | शिवमाया तुम्बाहाम्फे
unn.prixa.net

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सबै माननीय सदस्य सभामुख बन्ने समान हैसियतमा छन् । अहिले यो व्यक्ति बन्न हुने, त्यो बन्न नहुने भन्न मिल्दैन । मेरो हकमा भन्ने हो भने प्रतिनिधि सभामा झण्डै दुई वर्ष उपसभामुखकौ हैसियतमा कार्यरत छु । यो मेरा लागि अनुभव र सिकाइ दुईवटै महत्वपूर्ण छन् ।  
तत्कालीन नेकपा एमालेबाट फरक दलकै रुपमा उपसभामुख बनेकी हुँ । तर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । पद रिक्त रहँदा सभामुख को बन्ने भन्ने चर्चा हुनु स्वभाविक हो ।

आन्तरिक रुपमा सभामुखका विषयमा छलफल भइरहेको होला । तर औपचारिक रुपमा मसँग पार्टीभित्र र बाहिर कतै पनि छलफल भएको छैन । सभामुख कसलाई बनाउने भनेर मेरो पार्टी नेकपाभित्र र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष छलफल नभएको फेरि स्पस्ट पार्न चाहन्छु ।

जुन दिन छलफल हुन्छ । त्यो सार्वजनिक हुन्छ नै । मैले पनि सार्वजनिक गराैँला । तर बाहिर चर्चा भएअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न मिल्दैन । यो व्यवस्थाअनुसार सत्तापक्षले सभामुख पद लिने भयो भने मैले उपसभामुखबाट राजीनामा दिएर बाटो खोलिदिनुपर्छ ।

संविधानमा भएको यो व्यवस्था कार्यान्वयन गर्न मैले बाटो खोलिदिनुपर्छ भन्ने कुरा मैले बुझेकी छु । उपसभामुखबाट सभामुख बन्ने वा राजीनामा दिएर मन्त्री बन्ने भन्ने चर्चा चलेको कुरा मैले विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमबाट थाहा पाएकी छु ।

कुनै पनि व्यक्ति जुन क्षेत्रमा काम गरेको छ । जुन अनुभव सँगालेको छ । त्यसमा नै अगाडि बढ्ने हो । झण्डै दुई वर्ष मैले उपसभामुखका रुपमा काम गरिरहेकी छु ।

यसबीचमा प्रतिनिधि सभा बैठक कसरी सञ्चालन गर्ने भनेर राम्रो अनुभव लिएकी छु । यसबीचमा मैले राम्रै समन्वयको भूमिका निर्वाह गरे जस्तो पनि लाग्छ । आफ्नो क्षमता प्रदर्शन गरेकी छु ।
राजनीतिशास्त्रकै विद्यार्थी भएकाले यस विषयमा पोख्त पनि छु । यदि सभामुख भए भने त्यो जिम्मेवारी मैले राम्रोसँग निर्वाह गर्न सक्छु ।

पार्टीले सोधेको छैन 

यस विषयमा पार्टीले अहिलेसम्म मलाई सोधेको छैन । त्यो दिनको प्रतीक्षामा पनि छु । जुन दिन सभामुखका लागि मेरो धारणा सोध्छ, म खुलेर कुरा गर्नेछु । पार्टीभित्रका कुनै पनि नेताले मसँग सभामुखका विषयमा कुराकानी त गर्नु भएको छैन । तर आन्तरिक रुपमा छलफल परामर्श गरिरहनु भएको होला भन्ने लाग्छ ।

मैले फेरि पनि स्पस्ट पार्न चाहे, संसदीय व्यवस्थाअनुसार सत्तापक्षले सभामुख पद लिन्छ । यो अवस्थामा मैले उपसभामुख पद छाड्नुपर्छ । त्यो मेरो दायित्व पनि हो । तर त्यसपछि के हुन्छ ? भन्ने विषय चाहिँ नेकपाभित्र छलफल भएपछि मात्रै टुंगो लाग्छ ।

सभामुखका लागि तयार छु ! 

सभामुख बन्नु मेरा लागि नयाँ विषय हो । यसका लागि मैले कुनै न कुनै योजना बनाउनुपर्छ । तर अहिल्यै म सभामुख भए भने यो यो काम गर्छु भनेर सूची तयार पार्दिनँ । उपसभामुखमा मनोनयन दर्ता गर्दै गर्दा मैले आफ्ना योजनाहरु बनाएकी थिएँ । त्यहीअनुसार काम गरिरहेकी छु ।

संसदीय अभ्यासका क्रममा मैले केही नयाँ नै गरे जस्तो लाग्छ । अब सभामुख भएपछि के गर्नुहुन्छ ? भन्दा त्यो अहिल्यै यो यो भनेर भन्न सक्दिनँ । जुन दिन पार्टीले मलाई सभामुख बनाउने भनेर मनोनयन दर्ता गर्न लगाउँछ त्यही दिन यो–यो काम नयाँ गर्छु भनेर सञ्चारमाध्यममै घोषणा गर्छु ।

तर पार्टीले जिम्मेवारी दिन्छ भने सभामुख बन्न तयार छु । मेरो बाटो पनि सभामुख बन्ने नै हो । उपसभामुखको दुई वर्षको अनुभव म सभामुख भएपछि मात्रै काम लाग्ने हो । यो क्षेत्रबाट अर्को क्षेत्रमा गए त्यो अनुभव सार्थक हुँदैन ।

चुनौती छन्  

म पनि एउटा महिला हुँ । महिला सांसदका रुपमा प्रतिनिधित्व गर्छु । तर समाजले हेर्ने दृष्टिकोणबाट भन्ने हो भने महिलालाई काम गर्न धेरै कठिन छ । त्यो अफ्ठ्यारोभित्र अहिले महिला सांसदले काम गरिरहेका छन् । जुन चुनौतीपूर्ण छन् ।

म आफै जनप्रतिनिधि भएकाले अफ्ठ्यारोभित्र अवसर पनि छन् । समाजको अहिलेको संरचना र पुरुषप्रधान मानसिकता हाबी भएका संस्थामा काम गर्दा कति सहयोग पाए ? काम गर्न कति सहज भयो ? मैले कति सिके ? सिकेका कुरा कति व्यवहारमा लागु गर्न सके ? संस्थाभित्रका कति गतिविधिमा मैले आफ्नो भूमिका निर्वाह गर्न सके ? त्यसलाई फरक–फरक दृष्टिकोणमा राखेर हेर्नुपर्छ ।

तर मैले पहिलो पटक महिला सांसदका रुपमा काम गर्ने अवसर पाएँ । पहिलो अनुभवमै उपसभामुखको जिम्मेवारी पार्टीले मलाई दियो । तर उपसभामुख बन्दै गर्दा मलाई ठूलो चुनौती लागेन ।

कतिपयले उपसभामुख बन्दा प्रतिस्पर्धामा टिक्न सकिँदैन, काम गर्न सक्दिनँ होला, नयाँ मान्छे भएकाले काम गर्न गाह्रो हुन्छ भन्ने मलाई कहिल्यै लागेन । सात प्रदेशका उपसभामुखका कुरा सुन्दा उहाँहरुले ‘हामी उपसभामुखलाई कुनै भूमिका दिइएन, यो भएन, त्यो भएन’ भनेर गुनासो गर्नुहुन्थ्यो ।

उहाँहरुको त्यो तर्क र अनुभवसँग म सहमत हुन सकिनँ । उपसभामुख भएपछि मैले कुनै भूमिका पाइनँ भनेर कहिल्यै गुनासो गरिनँ । यो फरक भूमिका हो । सभामुखको जस्तो संसदका सबै गतिविधि सञ्चालन गर्ने अधिकार उपसभामुखलाई छैन । 

तर पनि निराश भएर बस्ने त ? काम छैन भनेर दिन गन्दै बस्ने त ? मैले यही अवस्थामा पनि केही फरक र नयाँ गर्न सकिन्छ भनेर सातै प्रदेशका उपसभामुखलाई ‘इन्करेज’ गरेकी छु ।

जसको कारण उहाँहरु अहिले दह्रो अडान राख्नुहुन्छ । आफ्ना कुरा स्पस्ट राख्न सक्नुहुन्छ । उपसभामुख भए पनि समन्वयको काम धेरै गर्न सकिन्छ भनेर उहाँले नयाँ प्रयास थाल्नु भएको छ । यो सह्रानीय पक्ष हो ।

हामी महिला सांसदका लागि पदसँगै चुनौती पनि थपिन्छन् । जुन पद र हैसियतमा आफू छु त्यसमा डटेर काम गर्नुपर्छ । भूमिका दिइएन, काम गर्न दिइएन भनेर गुनासो गर्नु हुँदैन । उपसभामुखका रुपमा मैले आफूले यस्तै काम गरेको छु भन्ने लाग्छ ।

सभामुख किन बन्ने ?

अब अहिले सभामुख बन्ने कि नबन्ने ? सभामुख भए के गर्ने ? किन मैलाई सभामुख बनाउने भन्ने विषयमा मैले होइन, पार्टीले धारणा बनाउँछ । मलाई सभामुख बनाए पनि पार्टीले धारणा बनाउँछ । नबनाए पनि किन बनाएन भनेर स्पस्ट पार्नुपर्छ ।

म अहिले उपसभामुख छु । मलाई यसकारण सभामुख बनाउने भन्ने कुरा नेकपाले पुष्टि गर्छ । अहिलै मैले कुरा गरेर मात्रै सार्थक हुँदैन ।

महिलालाई सभामुख बनाउने र ? बाहिर यस्तो चर्चा पनि सुनिन्छ । तर मलाई त्यस्तोचाहिँ लाग्दैन । यसअघि नै महिलाले सभामुख बनेर संसद चलाइसकेका छन् । त्यसमा महिला भएकै कारण सभामुख बन्न पार्टीले रोक्छ भन्ने मलाई लाग्दैन ।

तर महिला भएकै कारण उपाध्यक्ष, उपमेयर, उपसभामुखमा थन्क्याउने प्रवृत्ति पनि छ । तर यो मात्रै पनि अन्तिम सत्य होइन । सहायक भूमिकामा रहेर अब्बल काम गर्न सकिन्छ । अब्बल काम गरेर अर्कोपटक नयाँ फड्को मार्ने हो । तर त्यसका लागि काम गर्नुको विकल्प छैन ।

संसद चलाउनलाई अनुभव पनि चाहिन्छ । अनुभव उपसभामुखसँग सबैभन्दा धेरै हुन्छ । संसद चलाउनलाई पूर्व सभामुखबाहेक तत्कालीन उपसभामुखसँग नै बढी अनुभव पनि हो ।

उपसभामुख सानो पद होइन । दोस्रो वरीयताको पद मात्रै होइन । यो ठूलो पद हो । प्रतिस्पर्धामा टिक्न सकिने खुड्किलो हो । यसमाथि टेकेर अगाडि बढ्यो भने अरुलाई पनि प्रतिस्पर्धामा जित्न सक्ने आधार हो । 

अन्तिममा, सबै कुरा पार्टीसँगै जोडिन्छ । पार्टीले भनेपछि गर्ने हो । पार्टीले जिम्मेवारी दिए कसैले पनि नाइँ भन्दैन । पार्टीले मलाई सभामुखका लागि मनोनयन दर्ता गराउ अथवा पार्टीले उपसभामुख पद छोड भन्यो भने के–के आधारले छोड भन्यो ? 

किन सभामुखमा मनोनयन गर भन्छ ? त्यतिबेला यो विषयमा प्रतिक्रिया आउँछ । पार्टीले मलाई जिम्मेवारी दिन्छ/दिँदैन त्यो नेकपालाई नै सोध्नुपर्छ । तर अहिलेसम्म मलाई सोधिएको छैन ।

मन्त्रीभन्दा सभामुख सहज !

चर्चाकै कुरा गर्ने हो भने उपसभामुखबाट राजीनामा दिन लगाएर मन्त्री बनाउने चर्चा पनि छ रे । तर त्यो कुरा मलाई आधिकारिक रुपमा पार्टीबाट सोधिएको छैन । 

तर पार्टीले मलाई कुन आधारले सभामुख बनाउछ ? कुन आधारले उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउँछ ? त्यो कुरा पार्टीले पुष्टि गर्नुपर्छ । मेरो जोड पनि त्यही हो । उपसभामुख भएर काम गरेपछि अब सभामुख बन्ने नै हो । मैले मेरै क्षेत्र अथवा अहिले गरिरहेकै कामले मलाई सहज पार्ने हो । 

मैले अहिलेकै अनुभवबाट आगामी दिनमा राम्रो काम गर्न सक्छु भने त मलाई मन्त्रीभन्दा सभामुख बन्न सहज हुन्छ । किनकी अनुभवले पनि त्यही भन्छ । तर म सभामुख बन्छु कि मन्त्री बन्छु भन्ने कुरा पार्टीले निर्धारण गर्ने हो । जुन कुराको पर्खाइमा म पनि छु ।

(उपसभामुख तुम्बाहाम्फेसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: मंसिर ११, २०७६

शिवमाया तुम्बाहाम्फे

शिवमाया तुम्बाहाम्फे प्रतिनिधि सभाकी उपसभामुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया