‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’

 मंसिर ३, २०७६ मंगलबार १४:४३:४८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - सातौँ विश्व चर्पी दिवसका अवसरमा काठमाण्डौमा प्रभातफेरी गरेर मनाइएको छ ।

राष्ट्रिय सभागृह नजिकै रहेको सार्वजनिक शौचालय अगाडिबाट सुरु भएको र्‍याली भद्रकाली हुँदै बसन्तपुरमा पुगेर समापन भएको थियो । र्‍यालीमा  खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो),  गुथी,  वाटर एड, पश्चिम पाइला, नेपाल रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाललगायत संघसंस्थाको सहभागिता रहेको थियो ।

र्‍यालीमा ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’ ‘महामारी मुक्त नेपाल’ ‘शौचालयबाट निस्कने फोहोर कहाँ जान्छ त ?’ ‘के तपाईँ शौचालय नभएको कल्पना गर्न सक्नुहुन्छ ? तर अझै पनि साँढे २ अर्ब मानिसको घरमा छैन’ ‘घरघरमा चर्पी, सफा राखौँ धर्ती’ जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।

र्या‍लीपछि भएको कोणसभामा काठमाण्डौ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाण्डौ महानगरपालिकाभित्रको सार्वजनिक शौचालयको समस्या समाधान गर्न चर्पी निर्माणको काम सुरु भइसकेको बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग मिलेर केही इ–शौचालय र पक्की संरचनासहितको चर्पी निर्माण गरिने बताउनुभयो ।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले काठमाण्डौ उपत्यकामा सार्वजनिक शौचालयको संख्या बढाउनुका साथै नदीमा ढल मिसाउने कामको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

यस वर्षको विश्व चर्पी दिवसको नारा ‘कसैलाई पछाडि नछाडौंँ’ रहेको छ । नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि अझै धेरै घरमा शौचालय बनेकै छैनन् भने सार्वजनिक शौचालयको पहुँच त निकै कमजोर रहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया