१४ महिनाअघि बेपत्ता भएका पत्रकार तेजु खड्काको पर्स र झोला भेटियो

 मंसिर ३, २०७६ मंगलबार १५:४९:४ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – १४ महिनादेखि बेपत्ता पत्रकार तेजु खड्काको सामान स्थानीयले भेटेका छन् । स्थानीयले बुढीनन्दा माताको मन्दिर जाने बाटोमा पर्ने लौरीविनायक पाटनमा पत्रकार खड्कासँग सम्बन्धित सामान भेटेका हुन् ।

स्थानीयले पत्रकार खड्काको पर्स, झोलालगायतका सामान भेट्टाएका छन् । सामुदायिक रेडियो बुढीनन्दामा कार्याररत पत्रकार खड्का गएको वर्ष भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो ।  पाटनमा पर्स, झोला र सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेका हुन् ।

पर्समा तेजु खड्काको परिचय पत्र र लाइसेन्स भेटिएपछि प्रहरीलाई खबर गरेको स्थानीय नागरिक पदम रोकायले उज्यालोलाई जानकारी दिनुभयो । नजिकै केही कंकाल पनि भेटिएको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।  घटनाको सत्यतथ्य बुझ्नका लागि पत्रकार, स्थानीय नागरिकसहितको प्रहरी टोली त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक रुद्रसिह धामीले बताउनुभयो । प्रहरी टोलीले घटनास्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का तयार गर्ने र अवस्थाको अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सामुदायिक रेडियो बुढीनन्दाको आकस्मिक बैठक बसी घटनास्थलमा पत्रकार जीवन कैला र ललित नाथलाई पठाउने निर्णय गरेको छ ।

पत्रकार खड्का बेपत्ता भएको धार्मिकस्थल बुढीनन्दा समुन्द्री सतहबाट झण्डै ४२ सय मिटरको उचाइमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ भन्ने ठाउँबाट सम्पर्कविहीन भएको बताइएको छ ।

रेडियो नेपालको दिपायल प्रदेश प्रसारण केन्द्र दिपायल, हुँदै केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बजुराको कोल्टीमा रहेको रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उहाँ थर्मस छुटेको भन्दै मेलास्थल फर्केको र पछि एकाएक बेपत्ता भएको बताइएको छ । पत्रकार खड्काकाे घर डाेटी हाे ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १५, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया