भारत-बंगलादेश ऐतिहासिक डे/नाइट टेस्ट म्याचकाे सबै टिकट बिक्री

 मंसिर ४, २०७६ बुधबार २०:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

कोलकातामा भारत र बंगलादेशबीच हुन लागेको पहिलो ‘डे नाइट’ टेस्ट क्रिकेटका लागि सबै टिकट बिक्री भएको छ ।

टेस्ट च्याम्पियनसिपअन्तर्गत भारत र बंगलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट कोलकाताको इडेन गार्डेन स्टेडियममा शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो पटक भारतमा डे नाइट टेस्ट क्रिकेट हुन लागेकाले दर्शकहरु पनि निकै उत्साहित रहेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले बताएका छन् ।

अहिलेसम्म उक्त टेस्टको चार दिनका टिकट सबै बिक्री भएका हुन् । भारतीय समाचार संस्था आजतकका अनुसार डे नाइट टेस्ट भएकाले पनि सबै टिकट बिक्री भएको हो । टिकटकाे मूल्य १५०, १०० र ५० भारतीय रुपैयाँ रहेकाे क्रिकेट एसाेसियशन अफ् बंगालले जनाएकाे छ। पाँच दिनको टेस्ट क्रिकेट हुने भए पनि भारत र बंगलादेशबीचको टेस्ट कति दिनमा सकिन्छ त्यो भने अनुमान गर्न अप्ठेरो परेको छ ।

पहिलो टेस्ट भारतले तीन दिनमै एक पारी र १३० रनले जित निकालेको थियो । भारत र बंगलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट दिउँसो सवा १ बजेदेखि सुरु हुने छ । रातिमा पनि खेल हुने भएकाले यो टेस्टमा पहिलो पटक गुलाबी र‌ंगको बल पनि प्रयोग गरिने यसअघि नै जनाइएको छ । खेल हुनुअघि नै काेलकाता र इडेन गार्डेनलाई गुलाबी बत्तीले सजाइएकाे छ ।

सन् १८६४ मा निर्माण भएकाे इडेन गार्डेन रंगशाला भारतकै पुरानाे क्रिकेट रंगशाला हाे  । यसकाे दर्शक क्षमता ६८ हजार रहेकाे छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया