त्रिशूली नदीको बुट्टारमा बिजुली उत्पादन रोक्न माग गर्दै सर्वाेच्...
चैत १५, २०८० बिहिबार
लमजुङ – सुन्दरबजार नगरपालिका–८, कुसुण्डेका टेकबहादुर नेपालीले चार दशकभन्दा धेरै समय गाउँघरमै कर्मी काम (काठको काम) गर्नुभयो । त्यस समयमा काम अनुसारको कमाइ राम्रै थियो । कमाइले घर–व्यवहार राम्रैसँग चलेको थियो । तर बिस्तारै धमाधम फर्निचर उद्योग खुल्न थालेपछि गाउँघरमै काम पाउन मुस्किल पर्यो ।
‘फर्निचर धेरै खुले, हामीलाई काम पाउनै गाह्रो’ उहाँले भन्नुभयो ।
कर्मी काम पाउन छाडेपछि उहाँले पुर्ख्याैली पेशालाई निरन्तरता दिने सोच बनाउनुभयो । कर्मी काम गर्दा पनि उहाँ बेलाबेला जुत्ता चप्पल सिलाउने काम गर्नुहुन्थ्यो । त्यतिबेला काम गरेबापत अन्न पाइन्थ्यो । पैसा मिल्दैनथ्यो ।
‘बालीमा धेरै समय काम गरियो । वर्षभरि केही पाथी धान पाइन्थ्यो । बालीमा काम गर्दा गुजारा चलाउन साह्रै गाह्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो ।
दुःख धेरै, तर कमाइचाहिँ कम हुने भएपछि उहाँले पुख्र्यौली पेशालाई व्यवसायमा बदल्नुभयो ।
मासिक ५० हजार कमाइ
सुन्दरबजार नगरपालिका–९, सिउँडीबार चोकमै उहाँले आफ्नै लगानीमा सात वर्षदेखि ‘सुज सेन्टर’ चलाउँदै आउनुभएको छ । उहाँले जुत्ता–चप्पल मर्मत तथा बिक्री गर्नुहुन्छ ।
‘चोकमै पसल छ । हर्राबोट, कुन्छा, सुन्दरबजार, दुराडाँडा, सिउँडीबार, भोटेओडार लगायतका ठाउँबाट मानिसहरु जुत्ता–चप्पल सिलाउन आउँछन् । नयाँजुत्ता–चप्पल पनि किनेर लैजान्छन्,’ उहाँले भन्नुभयो ।
उहाँले एकजोर जुत्ता सिलाएको १ सय ३० रुपैयाँ र चप्पल सिलाएको १ सय रुपैयाँ लिनुहुन्छ । ‘जुत्ता–चप्पल मर्मतका साथै बिक्रीबाट मासिक झण्डै ५० हजार कमाई हुन्छ,’ उहाँले भन्नुभयो ।
यस व्यवसायमालागेपछि समयको सदुपयोगसंगै अर्थोपार्जन समेत भएको उहाँ बताउनुहुन्छ ।
‘उमेर घर्किदैँ गयो । बल–जोडको काम गर्न सकिँदैन । त्यसैले पुर्ख्याैली पेशालाई व्यवसायिक रुपमा सञ्चालन गरेको छु,’ उहाँले थप्नुभयो, ‘बसिबियाँलो भएको छ, साथमा कमाइ पनि । यस व्यवसायबाट राम्रै कमाइ छ ।’
‘पसिना बगाएर खानुपर्छ’
जुत्ता–चप्पल सिलाउने काम उहाँले आफ्नो मामाबाट सिक्नुभएको हो । टेकबहादुरको उमेर घर्किदैँ गएको छ । तर उहाँलाई ‘सकुञ्जेल हातपाखुरा बजारेर खानुपर्छ’ भन्ने लाग्छ । त्यसैले ढल्किँदो उमेरमा पनि उहाँले जोस–जाँगरका साथ हात–पाखुरा चलाइरहनुभएको छ ।
‘सकुञ्जेल हातपाखुरा बजारेर, श्रम–पसिना बगाएर खानुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले मैले यो उमेरमा पनि आफूले जानेको काम गरिरहेको छु ।’
हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानुनपर्ने उहाँ बताउनुहुन्छ । ‘गर्न सक्नेलाई यहीँ पैसा छ । हातमा सीप र मनमा जोस–जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।