प्रधानमन्त्रीको कार्यशैली स्वेच्छाचारी र निरङ्कुश देखियो : डा‍‍‌. भट्टराई

 मंसिर ५, २०७६ बिहिबार १४:३६:५१ | किरण लोहनी
unn.prixa.net

गोरखा – नयाँ मन्त्रिमण्डल पुनर्गठनप्रति सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले असन्तुष्टि जनाउनुभएको छ । 

प्रधानमन्त्री ओलीको निर्णयमा भएको नयाँ मन्त्रिमण्डल विस्तारलाई लिएर अध्यक्ष भट्टराईले भन्नुभयो, ‘प्रधानमन्त्रीको कार्यशैली अत्यन्तै स्वेच्छाचारी र अत्यन्तै निरंकुश प्रवृत्तिको देखिएको छ ।’ 

गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सत्तामा सहभागी पार्टी र पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी उपप्रधानमन्त्रीसँग पनि कुनै सल्लाह र परामर्श नगरी एकपक्षीय रुपमा मन्त्रीमण्डल पुनर्गठन भएको भन्दै त्यो लोकतन्त्रको मान्यता विपरीत रहेको टिप्पणी गर्नुभयो ।  

‘सामान्यतया संसदीय व्यवस्थामा प्रधानमन्त्रीले आफ्नो इच्छाअनुसार मन्त्रीमण्डल फेरबदल गर्न सक्नुहुन्छ, त्यो सामान्य विषय हो, त्यसमा टिप्पणी गर्नु आवश्यक छैन । तर जुन सरकारमा अन्य पार्टीहरु पनि सहभागी हुन्छन्, संयुक्त सरकार छ, त्यसमा एउटा सामान्य विधि हुन्छ’ भट्टराईले भन्नुभयो, ‘हाम्रो त संविधानमै पनि सहमति भन्ने शब्दहरु पनि परेको छ, त्यस्तो अवस्थामा अहिलेको प्रधानमन्त्रीको कार्यशैली अत्यन्तै स्वेच्छाचारी, निरंकुश प्रवृत्तिको देखापर्छ ।’ 

प्रधानमन्त्रीको कार्यशैलीले लोकतन्त्रलाई नै निरंकुशता, स्वच्छाचारीतातिर लाने र मनपरी तन्त्रतिर लाने कदममा एउटा कडी थपिएको भट्टराईले बताउनुभयो ।

‘यो चिन्ताको विषय छ, यसबाट हामी निकै दुखित भएका छौँ, यो हाम्रो पार्टीसँगको मात्रै कुरा होइन’ भट्टराईले भन्नुभयो, ‘जहाँसम्म हाम्रो पार्टीको यसमा धारणा छ, प्रधानमन्त्रीमा हामीलाई बिच्काउने र एकलौटी ढंगले जान्छु भन्ने कार्यशैली देखिन्छ ।’ 

सरकारमा सहभागी भैरहने वा बाहिरिने भन्नेबारे केन्द्रीय समिति अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव फर्केपछि बैठक बसेर निर्णय गर्ने भट्टराईले बताउनुभयो । यादवले मन्त्रीमण्डल पुनर्गठनका क्रममा दिइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने वा नसम्हाल्नेबारे उहाँले नै धारणा बनाउने भट्टराईको भनाइ छ । 

संविधान संशोधनका लागि दुई बुँदे सहमति गरेर तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको तर डेढ वर्ष बितिसक्दा पनि त्यसबारेमा सरकारले कुनै पनि चासो नदेखाएको हुनाले अन्तिम पटक सरकारसँग वार्ता गरेर सरकारबाट बहिर्गमन गर्नेबारे पदाधिकारीले निर्णय लिने भट्टराईले बताउनुभयो । समाजवादी पार्टीको हालै सम्पन्न संघीय परिषद् र केन्द्रीय समितिको बैठकले पनि यही निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

‘सरकारमा बस्ने मनसाय होइन, सत्ता हाम्रो प्राथमिकता पनि होइन’ भट्टराईले भन्नुभयो, ‘उहाँहरुको आफ्नै नेकपामै शक्ति सन्तुलन बनेको देखिँदैन, मन्त्रीहरुको सन्तुलन मिलेन भनेर आफ्नै पार्टीभित्रबाट पनि टिका टिप्पणी भैरहेको अवस्थामा देश र लोकतन्त्रलाई सुदृढीकरण गर्नेतिर भन्दा पनि अनावश्यक विवाद र झैझमेला सिर्जना गरेर देशलाई अहित हुने दिशातिर लैजाने हो कि भन्ने शंका भएको छ ।’ 

भारतसँगको सीमा विवाद हल गर्नका लागि पनि सरकारले कुटनीतिक कदम चाल्न नसकेको भट्टराईको दाबी छ । ‘राष्ट्रवादको चर्का कुरा गर्ने तर माखो पनि नमार्ने नेपाली शासकको जुन प्रवृत्ति छ, त्यसकै पुनरावृत्ति गरेर प्रधानमन्त्रीले जनतालाई मुर्ख बनाउन खोज्नुभएको जस्तो देखिन्छ’ उहाँ भन्नुहुन्छ, ‘राष्ट्रिय सार्वभौमसत्ताको विषयमा राष्ट्रिय जनमत विभाजित हुनुहुँदैन, प्रधानमन्त्रीले सेना हटाउन आदेश दिन्छु भन्ने शैलीमा दिएको प्रतिक्रिया विद्यार्थीले भाषण गरेको शैलीको छ ।’  

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Beatris Desailly

    Feb. 1, 2021, 8:20 a.m.

    Happy New Year!

  •  0 Reply

तपाईको प्रतिक्रिया