काठमाण्डाैकाे सडककाे समस्याबारे थाहा छ, छिट्टै समाधान गर्छु : मन्त्री नेम्वाङ

 मंसिर ५, २०७६ बिहिबार १६:१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नवनियुक्त मन्त्री नेम्वाङले काठमाण्डौको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ काठमाण्डौको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको प्रतिक्रिया पनि दिनुभयो । 

काठमाण्डौको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि यो समस्या समाधान गर्न कठिनाइ नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाइ छ । उहाँले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने पनि बताउनु भयो ।

विगतमा मन्त्रालयमा भएका कामहरुको समीक्षा गर्दै अघि बढ्ने योजना रहेकाे मन्त्री नेम्वाङले बताउनुभयाे ।

पदभार ग्रहण गर्नुअघि मन्त्री नेम्वाङलाई सचिव देवेन्द्र कार्कीलगायतका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ठाउँमा नेम्वाङ नियुक्त हुनुभएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया