मालदिभ्स पठाइदिन्छु भन्दै ५० जनासँग ५० लाख उठाएर फरार !

 मंसिर ७, २०७६ शनिबार ७:५८:१६ | सुमन तिमल्सिना
unn.prixa.net

युवाहरुसँग पैसा उठाएर फरार रहेकी लक्ष्मी दाहाल बिडारी

माेरङ - वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका-१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (बिडारी) ले ५० जना युवासँग प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको  विराटनगरमा रहेको श्रम कार्यालयमा  उजुरी परेको छ।

कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । पीडित युवाहरुको उजुरीका आधारमा श्रम कार्यालय विराटनगरले कारबाही अघि बढाएको छ ।

विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एअरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनुभयाे ।

वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेल

लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उहाँको भनाइ छ । ‘वैदेशिक रोजगारीसम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एअरपोर्ट रोक्का गरिएको हो,’ सञ्जेलले भन्नुभयाे, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’

पीडितहरु झापा, मोरङ, सुनसरीलगायतका छन् । पीडितहरुका अनुसार लक्ष्मीका श्रीमान रुपेश बिडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ ।

पीडित मध्येका सुन्दरहरैचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई माल्दिभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्डकाे काम लगाइदिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको कोइरालाले जानकारी उनले दिनुभयाे ।

लक्ष्मीसँग भेटघाट भएर कुरा मिलेपछि सबै जनाले उनको सनराइज बैंकमा रहेको खाता नम्बरमा पैसा हालिदिएको कोइरालाको भनाइ छ । त्यसपछि गएकाे असोज ६ गते मात्रै आफूलाई अधिकारीले जेनिथ ग्रुपका म्यानेजर बताउने दीपक मैनालीको सानिमा बैंक नक्साल काठमाण्डौको खातामा समेत थप एक लाख रुपैयाँ हाल्न लगाएको उहाँको भनाइ छ ।

पैसा पठाइदिएपछि अधिकारी पनि सम्पर्कविहीन रहेको कोइरालाले बताउनुभयाे । मासिक सात लाख अमेरिकी डलर तलब पाउने गरी दुई महिना भित्रमा मालदिभ्स पठाउने भनेर २०७५ माघमा आफूहरुसँग पैसा लिएको उहाँको भनाइ छ ।

लामो समयसम्म विदेश पठाउन नसकेको कुरा उठाउन थालेपछि पैसा उठाउने महिलानै बेपत्ता बनेको कोइरालाले बताउनुभयाे । मालदिभ्समा रहेका अधिकारी पनि अहिले सम्पर्कविहीन रहेको उहाँको भनाइ छ 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया