पास हुनुपर्ने मन्त्री ‘रिटोटलिङ’मा पनि फेल !

 मंसिर ७, २०७६ शनिबार १२:५४:३८ | मिलन तिमिल्सिना
unn.prixa.net

हुन त कापी जाँच्ने जाँचकी पनि जाँचकी मात्रै होइनन्, परीक्षार्थी पनि हुन् । उनको ‘रिपोर्ट कार्ड’ मा पनि हरियोभन्दा धेरै रातै देखिन्छ । तर अरुको मात्रै ‘रिपोर्ट कार्ड’ हेर्ने उनले आफ्नै नम्बरमा चाहिँ ध्यान दिएका छैनन् । आफूलाई परीक्षार्थीभन्दा जाँचकी मात्रै ठान्छन् ।

केही महिनाअघि उनले आफूभन्दा मुनिका सबैका जाँच लिए । ‘डिस्टिङ्कसन’ र ‘फस्ट डिभिजन’ त के ‘थर्ड डिभिजन’मा पनि कोही पास भएनन् । कोही ‘जस्ट पास’ भए, धेरै फेल ।

परीक्षा स्कुलतहको जस्तो होइन, डिग्री सरहको हो । डिग्रीमा त ‘जस्ट पास’ले काम गर्दैन, सके ‘डिस्टिङ्कसन’ नसके पनि ‘फस्ट डिभिजन’ त ल्याउनैपर्छ । ‘जस्ट पास’ र फेल भएकाको नतिजा कसरी सार्वजनिक गर्ने ? सबैलाई फेल गर्दा आफू पनि फेल हुने डर ! फेल हुनेलाई मात्र फेल गर्दा पनि फेरि आफ्नै सहयात्रीले आफूलाई फेल गराउने डर ! डरैडर भयो । त्यसैले रिजल्ट सार्वजनिक गर्न धेरै ‘ल्याङल्याङ’ भयो ।

बल्लतल्ल रिजल्ट निस्कियो । तर ढिलोगरी निस्किएको रिजल्टले पास हुनेबाहेक अरु कसैको पनि चित्त बुझेन । नम्बरअनुसार त कि सबै फेल हुनुपथ्र्यो, कि एक दुई जनाबाहेक सबै पास । तर पास हुनुपर्ने चाहिँ फेल भए, फेल हुनुपर्ने चाहिँ पास भए ।

कापी जाँचकीमाथि नै प्रश्न उठ्यो । मनसुनअनुसार चल्ने आफ्ना मान्छे र भनसुनअनुसार सल्बलाउने अरुका मान्छेलाई चिट चोराएर पास गर्ने, राम्रो लेख्नेलाई चाहिँ फेल गर्ने भन्ने आरोप लाग्यो । त्यसपछि कापी जाँचकी भित्रभित्रै ‘रिटोटलिङ’ गर्न बसे ।

रिजल्ट हेर्नेले दुई परीक्षार्थीको बारेमा बढी नै प्रश्न उठाएका थिए । एउटा खानेपानी पिउने, अर्को श्रममा खट्ने । कापी जाँचकीले दुवैको पाना पल्टाए । पानी पिउनेको कापीमा धेरै ठाउँमा रातो छ । श्रममा खट्नेको केही ठाउँमा रातो, धेरै ठाउँमा चाहिँ हरियै छ । दुईटाको कापी तुलना गर्दा धेरै रातो भएकोभन्दा थोरै रातो भएको मान्छे नै पास हुनुपर्ने हो ।

कापी जाँजकी एकछिन घोरिए । धेरै रातो भएको कापी हेर्दै टोलाए । नम्बरअनुसार त यस्तो मान्छे पास हुँदैन । नतिजामा फेल नै हुन्छ । तर सधैं नतिजा अगाडिको नम्बर हरहिसाबले मात्र काम गर्दैन, नतिजापछि भैपरीआउने परिस्थितिचाहिँ महत्वपूर्ण हुन्छ ।

नम्बर हेरेर नतिजा निकाल्ने हो भने आफ्नो चाहिँ नम्बर घट्ने डर ! नतिजा निकाल्नुअघि मात्रै बल्लतल्ल आफ्नो नम्बर मिलेको छ । सरकारमा पनि एक नम्बर, पार्टीमा पनि घुमाईफिराई एक नम्बरमै राख्न आफू सफल भइएको छ । फेरि दुई नम्बरमा राखिएका मान्छेलाई चिढाउनेगरी नतिजा निकाल्दा आफू चाहिँ दुई नम्बरमा पर्न सकिन्छ । त्यसैले कापी जाँचकीले हेर्दै गरेको कापी बन्द गरे ।

त्यसपछि उनले श्रममा खट्नेको कापी हेर्न थाले । लेखाई ठिकै छ, अंक राम्रै छ । ‘डिस्टिङ्कसन’ नै त होइन, ‘फस्ट डिभिजन’ जतिमा पास गर्न मिल्ने अवस्था छ । ठिकै छ, ‘फस्ट डिभिजन’मा पनि गर्न सकिएन, पास त जसरी पनि हुनुपर्ने हो । आफैंले जाँचेको, आफैंले नम्बर दिएको । नम्बरअनुसार त पास हुनुपर्ने हो । तर यहाँ पनि नम्बरले मात्र काम गरेन ।

यो कापी पास गर्दा अरु के के फेल भैरहेको छ भन्ने उनले सम्झन थाले । कापी लेख्नेले पास हुनेगरी अंक बढाउँदै जाँदा खाडी र मलेसियाको बाटोमा युवा पास हुने क्रम घट्न थालेको छ । युवा पास हुने क्रम घट्न थालेपछि बिचौलिया र दलालले बगाउने पैसाको खोलो पनि पास नभएर थुनिने क्रममा छ ।

यी मान्छे पास हुने गरी अघि बढ्दा त धेरै कुरा पास नभएर अड्कन थालेको रहेछ । त्यसैले यिनलाई पास गर्दा खाडी र मलेसिया जाने बाटोमा युवा पास हुन झन् गाह्रो हुन्छ । युवा पास हुन गाह्रो हुँदा बिचौलिया र दलाललाई पनि पैसा पास गराउन साह्रो हुन्छ ।

हाम्रा युवा मलेसिया र खाडीतिर पास भएनन् भने पराईका ती देश फेल हुन सक्छन् ? हाम्रा युवा नगए ती देश कसले बनाइदिन्छ ? ती देश बनेनन् भने हामी पनि हाम्रो देशलाई त्यस्तै बनाउँछौ भनेर कसरी भन्न पाइन्छ ? कोही पनि विदेश गएनन् भने सबैलाई कसरी रोजगारी दिने  ? अहिल्यै देशभित्र सबैलाई रोजगारी दिन थालियो भने अर्को चुनावमा के भनेर भोट माग्ने ? 

अनि विदेश जाने नै घट्न थाले भने यतिका म्यानपावर, बिचौलिया र दलाल बेरोजगार हुन्छन् । फेरि बेरोजगारीको संख्या बढ्छ । उनीहरु बिच्किन्छन् । पैसाको चलखेल बन्द हुन सक्छ । त्यही चलखेल हुँदै सर्ने पैसा आफू नजिकका मान्छेको खल्तीसम्म पास हुने बाटो पनि बन्द हुन्छ ।

लहरोदेखि पहरोसम्म सम्झन थालेपछि जाँचकीलाई लाग्यो, नम्बरकै आधारमा यिनलाई पास गर्दा अरु धेरै कुरा फेल हुन्छन् । युवा विदेशतिर पास नहुन सक्छन् । दलाल र बिचौलियाको पैसाको खोलो पास नहुन सक्छ । खोलो पास नहुँदा थुनिएर ताल बन्छ । त्यो तालले आफैलाई डुबाउन सक्छ ।

यी सबै कुरा बुझेपछि कापी जाँचकीले त्यो कापी पनि बन्द गरे । पास हुनुपर्ने मन्त्री ‘रिटोटलिङ’मा पनि फेल भए । 

अन्तिम अपडेट: मंसिर २०, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया