साउदीमा दुघर्टनाबाट जोगिन ‘पाथिभरा दर्शन’

 साउन २, २०७५ बुधवार १६:३३:२५ | रीतु थेबे
unn.prixa.net

साउदीकाे हायलमा अालुका बाेरा लाेड गरिँदै

काठमाडौं – ‘पाथीभरा दर्शन’ । त्यसमुन्तिर ‘आइ लभ नेपाल’ लेखिएको स्टिकर टाँसिएको छ  । मेची राजमार्गमा चल्ने प्रायःजसो यात्रुवाहक र मालवाहक मोटरमा लेखिने यी दुई शब्द साउदी अरेबियाको सडकमा गुड्ने एसडिए ८०१० नम्बरको लरीमा लेखिएको/टाँसिएको छ । 

यी शब्द गाडीको अगाडिको भागमा लेख्ने आइडिया हो, सात समुन्द्र पारी मरुभूमीमा गाडी चलाउने पेसामा लागेका तेह्रथुमको आठराई गाउँपालिका ३ का ३३ वर्षे रामकुमार ल्वागुनको । यस्ता स्टिकर मरुभूमिका गल्लीमा हप्ता दिनमा लाग्ने बजारमा पाइन्छन् । रामकुमारले त्यही बजारमा किनेर स्टिकर टाँस्नुभएको हो । पाथीभरा दर्शन चाहिँ आफैंले मेहनत गरेर लेखेको । 

१४ चक्के लरीको स्टेरिङ सम्हाल्ने जिम्मा पाएका छन् उनै रामकुमारले । लरी भरी आलुको भारी बोकेर साउदीको चिल्ला सडकमा हुँइकिन थालेको १९ महिना भयो । 

श्रीमती, एक छोरी र आफन्तलाई गाउँमै छाडेर साउदी पुगेका रामकुमारको धेरैजसो समय एक्लै बित्छ । त्यो पनि आफूले चलाउने गाडीमै । कुन ठाउँमा रात बिताउनु पर्ने हो ठेगान हुँदैन । महिनौं लेवर क्याम्प बाहिर बस्नुपर्छ । 

मरुभूमीमा फलेका आलु लरीमा राखेर रामकुमारले साउदीका कुनाकाप्चासम्म पुर्‍याउनु पर्छ । उसो त साउदी भन्दा बाहिर यमन र कतारमा पनि आलु लिएर जानुपर्थ्याे । तर अहिले यमनमा सुरक्षा अवस्था राम्रो छैन । कतारसित साउदीले कुटनीतिक सम्बन्ध तोडेको छ । त्यसैले हिजोआज त्यहाँ सामान पुर्‍याउन ती देशमा जानुपर्दैन । 

रामकुमारले साउदीमा काम गर्न थालेको ७ वर्ष पुग्न लाग्यो । मलेसिया समेत जोड्ने हो भने जीवनको उर्वर समय विदेशमा बिताएको १० वर्ष हुन लागे । लेवरको भिसामा साउदीको अल रसिद कम्पनीमा पुगेका उहाँले ५ वर्ष लेवरकै काम गर्नुभयो । 

लेवरको कामबाट ‘फिनिस’ फर्केपछि उहाँ साउदीकै लेहा ट्रान्सपोर्टेसन कम्पनीमा हेभी ड्राइभरको काममा जानुभएको हो । लेहा ट्रान्सपोर्टेसनमा ३५ जना नेपाली ड्राइभरले स्टेरिङ सम्हाल्छन् । ३५ नेपालीसहित भारत, पाकिस्तान, श्रीलंकाका गरी पाँच सय ड्राइभर छन् त्यो कम्पनीमा । 

रियादको हायलमा रहेको मजरामा आलुका बोरा लोड गर्दै गर्दा आफूले चलाउने गाडीको फोटो रामकुमारले फेसबुकमा अपलोड गर्नुभयो । रामकुमारले गाडीमा किन यी लाइन लेखे ? आइ लभ नेपाल लेखिएको स्टिकर किन टाँसे ?

मरुभूमिको सडकमा गाडी छेउ लगाएर भात पकाएर खानुपर्छ । सुत्ने बस्ने व्यवस्था गाडीमा नै छ । गाउँघरको सम्झना र आफ्नो भगवान मात्रै रामकुमारका साथै हुन्छन् । 

रियादको हालयदेखि जेद्धासम्म ११ सय किलोमिटर सडक छिचोलेर फेरि रियाद नै आइपुगेका रामकुमारले फेसबुक म्यासेन्जरमा जवाफ दिनुभयो, ‘विश्वासले । देवीदेउता सम्झँदा रक्षा होला भन्ठानेर ।’ 

हुन पनि श्रीमती, एक छोरी र आफन्तलाई गाउँमै छाडेर साउदी पुगेका रामकुमारको धेरैजसो समय एक्लै बित्छ । त्यो पनि आफूले चलाउने गाडीमै । कुन ठाउँमा रात बिताउनु पर्ने हो ठेगान हुँदैन । महिनौं लेवर क्याम्प बाहिर बस्नुपर्छ । 

मरुभूमिको सडकमा गाडी छेउ लगाएर भात पकाएर खानुपर्छ । सुत्ने बस्ने व्यवस्था गाडीमा नै छ । गाउँघरको सम्झना र आफ्नो भगवान मात्रै रामकुमारका साथै हुन्छन् । 

धेरै नेपाली युवा मरुभूमीमा रामकुमारले जस्तै भाग्य खोज्दै पुगेका छन् । एक्लै सही, उनीहरु आफन्तका सुख र सुन्दर भविष्यको खोजीका लागि परदेशिन विवश छन् । फेसबुकमा रामकुमारले नामको अगाडि विवश थप्नु भएको छ, रामकुमार विवश ल्वागुन । 

याे पनि पढ्नुहाेस् 

साउदीमा नेपाली ड्राइभरको व्यथा : पैंतीस लाख रुपैयाँ तिर्न नसक्दा मरुभूमिको बास

साउदीमा पूर्णबहादुरको व्यथा : भिसा ट्रक ड्राइभरको, काम उँट गोठालोको

अन्तिम अपडेट: भदौ २०, २०७५

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया