रुपा गाउँपालिकाबाट ६ सय बाँदर सारियो

 साउन २, २०७५ बुधबार १६:४६:१२ | हिमनिधि लौडारी
unn.prixa.net

कास्की – कास्कीका ५ स्थानीय तहमध्ये रुपा गाउँपालिकाले बाँदर नियन्त्रणमा पहिलो सफलता प्राप्त गरेको छ ।

बाँदरलाई पक्राउ गरी बर्दिया, चितवनलगायतका राष्ट्रिय निकुञ्जमा लगेर छोडेपछि अहिले रुपा गाउँपालिका क्षेत्रमा बाँदरले दुःख दिन छोडेको छ । लगभग ६ सय बाँदरलाई पक्राउ गरी अन्यत्रै लगेर छोडिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको यो कदमपछि बाँदरले उब्जाएको समस्या ७५ प्रतिशत समाधान भएको छ ।

बाँदरको समस्या समाधान भएको कारण रुपा गाउँपालिका क्षेत्रका किसानहरुले यस वर्ष मकै भित्र्याउन पाएका छन् । बाँदरकै कारण किसानहरुले खेतीपाती गर्न छोडेपछि रुपा क्षेत्रमा उब्जनी घट्दै गएको थियो । जसको कारण मानव विकास सूचांकमा यो क्षेत्र कास्कीको सबैभन्दा पछाडि परेको थियो । 

नेपालको मानव विकास सूचांकमा कास्की अगाडि रहेको भए पनि कास्कीको पूर्वी भेगमा पर्ने यो क्षेत्रमा भने गरिबी बढ्दै गइरहेको थियो । बाँदरको समस्या समाधान हुँदै गएको र किसानहरुलाई खेतीबालीमा प्रोत्साहन गरिएको कारण अब उत्पादन बढ्न गई आर्थिक अवस्था पनि सुध्रिने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभएको छ ।

गण्डकी प्रदेशका धेरै गाउँहरुमा बस्ने किसानहरुको लागि बाँदर समस्याको रुपमा रहेको छ । मकैै, कोदो, धानलगायतका अन्न र विभिन्न जातका फलफूलहरु खाइदिने तथा झारेर नोक्सान गरिदिने कारणबाट किसानहरु कृषि कर्मबाट विस्थापित हुनुपर्ने अवस्था रहेको छ । तर अन्य स्थानीय निकायले भने प्रभावकारी रुपमा बाँदर नियन्त्रणको काम गर्न सकेका छैनन् । 

रुपामा पर्ने रुपा, देउराली, हंसपुर, थुक्की, सिद्धलगायतका स्थानमा बाँदरले खेतीबाली खाइदिएर किसानहरु समस्यामा थिए । बाँदर नियन्त्रणको लागि यस गाउँपालिकाले गएको आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले यस आर्थिक वर्षमा पनि बाँदर नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यसको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 

‘राति जंगलमा बस्ने  र दिउँसो खेतबारी तथा घरैमा आएर अन्नबाली र फलफूल खाईदिने एवं अन्य तरिकाबाट नष्ट गरिदिने बाँदरलाई समातेर अन्यत्र लैजानु सजिलो काम चाँही होइन’, गाउँपालिकाका अध्यक्ष नवराज ओझा भन्नुहुन्छ, ‘यो ज्यादै चुनौतिपूर्ण रहेछ । यस कामको लागि विज्ञता प्राप्त व्यक्तिहरु नेपालमा नै छैनन् । रुपा गाँउपालिकाले बाँदर समात्ने विशेषज्ञहरु भारतको उत्तरप्रदेशबाट झिकाएको छ । विशेष खालको जालीमा बाँदरलाई फसाएर गाडीमा राखेर अन्यत्र लगेर छोडिएको हो ।’ 
 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

हिमनिधि लौडारी

पोखराका उज्यालो सहकर्मी हिमनिधि लौडारी रेडियो तरंगमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Divakar Devkota

    July 19, 2018, 5:20 p.m.

    It is very simple to catch a monkey. They do this in India. Monkeys have the habit of holding the objects in palm like apple, organ, banana once they clutch one of them, even it means for them to be caught by man. So if you put an apple in a box which has opening just enough to insert the size of palm of a monkey; once the money clutches the apple in palm it cannot pull out its palm because the size of palm is now larger in size due to the size of the apple to come out of the opening of the box.

  •  0 Reply

तपाईको प्रतिक्रिया