मेकअप स्टुडियो : नेपालमै अन्तर्राष्ट्रिय स्तरको कोर्स

 मंसिर १०, २०७६ मंगलबार १४:३७:२३ | दीपा तिमल्सिना
unn.prixa.net

मेकअप स्टुडियो । झट्ट सुन्दा मेकअप गर्ने ठाउँ भन्ने बुझिन्छ । तर त्यसो होइन । यो  अन्तर्राष्ट्रिय स्तरको एउटा ब्राण्ड हो । यसको मुख्य कार्यालय नेदरल्याण्ड्समा छ । यो ब्राण्ड विश्वका धेरै शहरमा पनि पुगिसकेको छ ।

नेपालमा भने पहिलो पटक २०७५ साल कार्तिक महिनामा हेमन्त निरौलाको नेतृत्वमा भित्रिएको हो । अहिले काठमाण्डौको अनामनगरमा मेकअप स्टुडियोको कार्यालय छ । जहाँ, ‘फेस’ र ‘हेयर’ को सौन्दर्य र डिजाइनबारे सम्पूर्ण ज्ञान र सीप सिकाइन्छ ।

नेपालमा मेकअपको माग बढ्दो तर दक्ष जनशक्ति नभए पछि हेमन्त निरौलाले मेकअप स्टुडियोलाई भित्राउनु भएको हो । नेपालमा मेकअपका लागि भारतीय नागरिकलाई झिकाउनु पर्ने बाध्यतालाई तोड्न पनि मेकअप स्टुडियो भित्राएको निरौला बताउनुहुन्छ ।

हेमन्त निरौला खासमा पढ्नका लागि झापाबाट काठमाण्डौ आउनु भएको हो ।  अमृत साइन्स क्याम्पसमा बीएस्सी पढ्दै गर्दा फार्मेसी क्षेत्रमा प्रवेश गर्नुभयो । सुरुमा मेडिकल क्षेत्रमा प्रवेश भएको उहाँको पाइला अहिले मेकअपको दुनियाँमा दौडिरहेको छ ।

२०५२ सालदेखि उहाँले लामो समयसम्म  मेडिकल रिप्रेजेन्टेटिभ भएर काम थाल्नुभयो । यो जागिर एक दशकसम्म रह्यो । तर यसपछि भने उहाँलाई आफैंले केही गर्नुपर्छ भन्ने हुटहुटी चल्यो ।औषधिको व्यापार गर्दागर्दै बटुलेको ज्ञानलाई प्रयोग गर्दै उहाँले आफ्नै व्यापार थाल्नुभयो । छालासम्बन्धी औषधिसँगै ब्राण्डेड कम्पनीका श्रृंगारका सामग्रीको मागले उहाँको व्यापारलाई फराकिलो बनाउँदै लग्यो । अनि खुल्यो आस्ताबेरी कम्पनी ।

सन् २००६ मा हेमन्त निरौलाले आस्ताबेरी ब्राण्डको सामान ल्याउँदा कस्मेटिक प्रोडक्टको प्रयोग र अहिलेको प्रयोगमा आकाश जमिनको फरक आएको छ । पहिले–पहिले नक्कल पार्नकै लागि भनेर सौन्दर्यका सामग्रीलाई चिनिन्थ्यो भने अहिले सुन्दरतासँगै हेरचाह भनेर बुझिन्छ ।

आस्ताबेरी कम्पनीमार्फत छालासम्बन्धी सामग्रीको कारोबार गर्दा गर्दै निरौलालाई कपालको सुन्दरतालाई तान्यो । र यसले अनुहारको सुन्दरतालाई जोड्यो । तर, यो प्रक्रियामा जोडिन भनेजस्तो सजिलोचाहिँ थिएन । लामो रस्साकस्सीपछि उहाँलाई आफ्नो व्यापार पूर्ण लाग्यो ।

‘छाला र कपालको सुन्दरता बढाउने सामग्रीको व्यापार अधुरो लागेपछि मेकअपमा जोडिएँ, तर गर्नुपर्ने अझै धेरै काम बाँकी छ’, निरौलाले भन्नुभयो । नेपालमा मेकअप स्टुडियो कसरी खुल्यो त ? निरौला भन्नुहुन्छ, ‘हरेकमा श्रृंगार र ग्ल्यामरको चाहना बढ्दैछ, तर यो क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति थोरै मात्र छ । नेपालमा नै युवालाई अवसर सिर्जना गराउने प्रयासमा यो काम सुरु गरेँ ।’

ब्राण्डेड सामग्रीको माग : मेकअप स्टुडियोको जग

आस्ताबेरी कम्पनीमार्फत सौन्दर्यका सामग्री कारोबारका क्रममा संगत पर्यो नेदरल्याण्ड्सको ब्राण्ड मेकअप स्टुडियोसँग । यो स्टुडियोको ‘प्रडक्ट’ले उहाँलाई लोभ्यायो ।

तर यो ब्राण्ड नेपालमा भित्राउन नेद्ल्याण्ड्सको कम्पनी तयार भएन । हेमन्त भन्नुहुन्छ, ‘यो ब्राण्ड नेपालमा पुर्‍याउँछु भन्दा उहाँहरु मान्दै मान्नु भएन । नेपाल जस्तो सानो मार्केट भएको ठाउँमा व्यापार हुँदैन भन्दै उताको टोलीले अनुमति नै दिएन ।’

नेपालमा ब्राण्डेड सामग्री नपाइने भन्दै सेवाग्राहीले बारम्बार गरेको आग्रहले उहाँलाई घच्घचाइरह्यो । उहाँ नेदरल्याण्ड्सको ब्राण्डसँग नियमितजसो सम्पर्कमा रहिरहनुभयो । अन्ततः आफ्नो लक्ष्यमा निरौला सफल हुनुभयो । सम्बन्धित कम्पनीलाई विश्वास दिलाएपछि  नेपालमा खुल्यो मेकअप स्टुडियो ।

थपियो अवसरसँगै चुनौती

ब्राण्ड स्थापना गर्नु एउटा अवसर, तर सामान बिक्री गर्नु अर्को चुनौती । ‘ब्राण्डेड’ र ‘ओरिजिनल’, सामग्रीको मूल्य महँगो । यस्तै खालका डुब्लिकेट सामग्री सस्तो पाइने । सामान नचिन्दा सेवाग्राहीले सस्तो सामान नै खोज्ने । यसले ओरिजिनल सामान बेच्नेहरुलाई पनि घाटा परिरहेको अवस्था छ ।

हामीले ओरिजिनल कि डुप्लिकेट कसरी छुट्याउने त ? निरौला भन्नुहुन्छ, ‘ओरिजिनल र डुप्लिकेट समान चिन्न सबैभन्दा सजिलो माध्यम भनेको गूगल हो । गूगलमा गएर कुन प्रडक्टको मूल्य कति भनेर हेर्न सकिन्छ । कस्टुमर सुविधा पहिले नै कटाएर दिने हुँदा ओरिजिनल सामानको  मूल्य जुनसुकै देशमा पनि एकै खालको हुन्छ । उदाहरणका लागि ओरिजिनल सनस्क्रिन क्रिमको अमेरिकामा २० डलर पर्छ भने नेपालमा पनि २० डलर नै पर्छ ।’

नेपालमा खोलिएको मेकअप स्टुडियोको प्रडक्टहरु पूर्ण मेकअपमा केन्द्रित छ । तर मेकअपको राम्रो सामान भए पनि हामीले यसलाई प्रयोग गर्ने तरिका जानेनौँ भने फाइदा भन्दा बेफाइदा हुने मेकअप स्टुडियोको फाउन्डरसमेत रहेका हेमन्त निरौला बताउनुहुन्छ । 

सिकाउने भारतीय, सिक्ने नेपाली

नेपालमा ब्राण्डेड कस्मेटिकको माग बढ्दै गयो । तर त्यसअनुसार दक्ष जनशक्तिको अभाव खड्कियो । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड भएको ब्राण्ड भित्रिए पनि दक्ष जनशक्तिको अभाव देखिएपछि सुरुमा निरौलाले भारतबाटै मेकअप आर्टिस्ट झिकाउनुभयो ।

‘हामीसँग आबद्ध ब्यूटीसियनलाई तालिम दिन मेकअप स्टुडियोको सामान ल्याउनेबित्तिकै हामीले भारतमा बसेर राम्रो ख्याति कमाएका मेकअप आर्टिस्ट ल्यायौँ, यसको एक मात्र उदेश्य थियो – राम्रो प्रोडक्ट तालिम प्राप्त व्यक्तिबाट लगाइनुपर्छ ।’

त्यसपछि हेमन्त निरौलाले थाल्नुभयो मेकअपको सैद्धान्तिक कक्षा पनि । यो काममा जीवनसंगिनी मीना महतको साथ पनि जोडियो ।  मेकअपमा भविष्य देखेर नै शिक्षकको जागिर छोडेर मीना स्टुडियोमा जोडिनुभयो । उहाँ अहिले प्रबन्ध निर्देशक हुनुहुन्छ ।

मेकअपको कोर्ष ४९ हजारदेखि ९९ हजार रुपैयाँसम्म

मेकअप स्टुडियोले नेपालमा सिकाउने कोर्ष नेदरल्याण्ड्सले तयार पारेको मापदण्डभित्रकै हो । यसले संसारभरि नै मान्यता पाउँछ । मेकअप स्टुडियोमा घण्टाको हिसाबमा कोर्ष हुन्छ ।

कति घण्टा कुन लेबलको कोर्ष गर्ने विद्यार्थी आफैले छनौट गर्न सक्छन् । सामान्य कोर्ष र एड्भान्स गर्न चाहनेले ४९ हजार रुपैयाँ तिर्नुपर्छ ।  अनि दुवै कोर्ष गर्नेले ९९ हजार रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ ।

नेपालमा दिइने यो कोर्षका लागि पहिले भारत र यूरोपेली देश जानुपर्ने बाध्यता थियो । मेकअप आर्टिस्ट सुशील शुभेच्छाका अनुसार अहिले मेकअपको सम्पूर्ण प्याकेजका लागि विदेशी भूमिमा गएर लाखौं खर्चिनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

सीप सिकेर दक्ष भने मेकअपमा भविष्य सुनिश्चित भएको मेकअप आर्टिस्टहरु नै बताउँछन् । उनीहरुका अनुसार विवाह, पार्टी जस्ता सिजनमा दैनिक कमाइ २ देखि ५ लाख रुपैयाँसम्म हुन्छ ।

नेपालमा नै पहिलो पटक मेकअप स्टुडियोलाई भित्राउनु भएका हेमन्त निरौलाले मेकअपका लागि स्कुल नै खोल्ने तयारी पनि गर्नु भएको छ । यसले अब दक्ष जनशक्ति उत्पादन गर्न र सीप सिक्न भारतबाट मेकअप आर्टिस्ट ल्याउनुपर्ने बाध्यता पनि हट्ने उहाँको विश्वास छ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया