महाराष्ट्र : बहुमत परीक्षण नहुँदै फडणवीसले दिए राजीनामा, ठाकरे मुख्यमन्त्री बन्ने

 मंसिर १०, २०७६ मंगलबार १७:३६:२८ | एजेन्सी
unn.prixa.net

बहुमत परीक्षण हुनुभन्दा २४ घण्टाअघि नै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामा दिएका छन् । फडणवीसले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले शिव सेनाले आफूहरुसँग कुनै पनि विषयमा चर्चा नगरी कांग्रेस र राष्ट्रवादी कांग्रेस पार्टी(एनसीपी) सँग छलफल गरिरहेको बताए । पत्रकार सम्मेलनलगतत्तै मुम्बईस्थित राजभवन पुगेर राज्यपाल भगत सिंह कोश्यारीलाई फडणवीसले राजीनामा पत्र बुझाएका छन् । 

यसअघि एनसीपीका नेता तथा उपमुख्यमन्त्री अजित पवारले राजीनामा दिइसकेका छन् ।

अब शिव सेना, एनसीपी र कांग्रेसको गठबन्धनका तर्फबाट उद्धव ठाकरेलाई नेता चुनिएकाले उनैको नेतृत्वमा महाराष्ट्रमा सरकार बन्ने सम्भावना रहेको छ । 

अहिलेसम्म के-के भयो महाराष्ट्रमा ?

महाराष्ट्रमा गएको २१ अक्टोबरमा २८८ सिटका लागि विधानसभा चुनाव भएको थियो । 

अक्टोबर २४ मा आएको नतिजाअनुसार गठबन्धन बनाएर चुनाव लडेका बीजेपी र शिव सेनासँग स्पष्ट बहुमत रहेको थियो । तर दुई पार्टीबीच मुख्यमन्त्री पद र सत्ताको साझेदारीका विषयमा मतभेद उत्पन्न भएको थियो । त्यसपछि शिव सेनाले एनसीपी र कांग्रेससँग मिलेर सकार बनाउने कसरत गरेको थियो । तर राज्यपालले दिएको समयसीमाभित्र सरकार बनाउन नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको थियो ।

गएको शुक्रबार शिव सेना, एनसीपी र कांग्रेसबीच सरकार बनाउने सहमति भएको थियो । शनिबार बिहान तीन दलको गठबन्धनबाट शिव सेनाका नेता उद्धव ठाकरेले मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने तयारी पनि थियो ।

तर रातभरमा राजनीतिक घटनाक्रमले अर्कै रुप लियो । बिहान हुँदै गर्दा बीजेपीले एनसीपीका विधायक दलका नेता अजित पवारको समर्थनसहित पत्र राज्यपाललाई बुझायो । देवेन्द्र फडणवीसले मुख्यमन्त्री र अजित पवारले उपमुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरे । तर एनसीपीका अध्यक्ष शरद पवारले तत्कालै पार्टीको बैठक बोलाएर अजित पवारको निर्णय व्यक्तिगत भएको बताए ।

२८८ सिट रहेको महाराष्ट्र विधानसभाको चुनावमा बीजेपीले १०५ सिटमा जित हात पारेको थियो । एनसीपीले भने ५४ सिटमा जित हात पारेको थियो । शिव सेनाले ५६ सिटमा जित हात पार्दा कांग्रेसले ४४ सिट जितेको थियो ।

शिव सेना बीजेपीसँग गठबन्धन बनाएर चुनाव लडेको थियो । त्यस्तै कांग्रेस र एनसीपी पनि गठबन्धन बनाएर चुनावमा गएका थिए । महाराष्ट्रमा सरकार बनाउन १४४ सिट आवश्यक पर्दछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया