बैंकिङ कसुर: नक्कली ऋणीहरू जेलमा, मुख्य योजनाकार फरार

 मंसिर ११, २०७६ बुधबार ११:८:१८ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चोक – तत्कालीन क्यापिटल मर्चेन्ट एण्ड बैंकिङमा ७ अर्ब अनियमितताको आरोप लागेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनजंग कार्की फरार छन् ।

कार्की अमेरिकामा रहेको प्रहरीको सूचनामा छ । कार्कीलाई पक्राउ गरेर नेपाल ल्याउन प्रहरीले पहल गरे पनि सफल हुन सकेको छैन । अमेरिकी नागरिक भइसकेकाले कार्कीलाई अमेरिकाले नेपाल पठाउन मानेको छैन । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ ।

रकम अनियमिततामा संलग्न भनिएका नक्कली ऋणीहरु भने कोही जेलमा छन् । कसैको उठिबास लागेको छ । नक्कली कम्पनी खडा गरी कमसल धितोलाई धेरै ऋण दिएर ७ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ अनियमितता भएको थियो । बैंकिङ कसुर र अभियुक्तको हिसाबले सबैभन्दा ठूलो मुद्दा दायर भएको थियो ।

कार्कीले आफ्ना ससुरा बनेपा नगररपालिका–६ का शम्भुबहादुर केसीमार्फत नक्कली ऋणीहरू खडा गरी उनीहरूको नाममा विभिन्न कम्पनी बनाएर कर्जा प्रवाह गरेका थिए । केसीले आफ्नै दाजुभाइ तथा छिमेकीलाई त्यसरी फसाएका थिए । आफ्नो धेरै जग्गा भएकाले हदबन्दी लाग्ने भएपछि छिमेकीको नाममा जग्गा पास गराइ 

त्यही जग्गा धितो राखेर उनीहरूकै नाममा कम्पनी खोलेर कर्जा प्रवाह भएको थियो । 

मुद्दा दायर भएपछि न्यायाधीशहरुले आरोपित नक्कली ऋणीहरुको तर्फबाट पेश भएको कागजात हेर्दै नहेरेको आरोप पीडितहरुले लगाएका छन् । नक्कली ऋणीहरु बनाउने र फसाउने शम्भुबहादुर केसीले ‘नक्कली ऋणीहरुको दायित्व केही छैन, म आफैँ जिम्मा लिन्छु’ भनेर गरिएको कागज न्यायाधीशले नहरेको पीडितहरुको गुनासो छ । शम्भु केसीले नक्कली ऋणीहरु बनाउँदा पनि पुर्ख्यौली सम्पत्तिलाई छोएका छैनन् । ‘यहाँ कसैको पनि पुर्ख्यौली सम्पत्ति धितोमा राखिएको छैन’, पीडितमध्ये भैरव केसीले भन्नुभयो, ‘यसले पनि हाम्रो कुनै गल्ती छैन भन्ने प्रस्ट हुन्छ ।’

मुख्य योजनाकारसँगै दोषी भनिएका कार्कीका ससुरा शम्भु र बैकंका क्यासियर रिना तन्डुकारलाई न्यायाधीशहरु भिमबहादुर बोहरा र बाबुराम रेग्मीको संयुक्त्त इजलासबाट २०७१ वैशाख २९ गते सफाइ दिँदै साधारण तारेखमा छाडिएको थियो । पीडितहरुले मुख्य दोषीहरु छुट्ने, तथा तत्कालीन जग्गाको मूल्याङ्कन गर्नेहरु छुटे पनि नक्कली ऋणीहरुले सजाय भोगिरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले आफूहरूसँग बुझ्ने काम नै नगरेको पीडितहरुको गुनासो छ । नक्कली ऋणीहरुले फैसला हुँदा अदालतले त्यसबेला प्रयोग भएका बैंक चेकहरु हेर्दै नहेरेको, ऋणको कागजात नहेरेको, माफियाले नक्कली र किर्ते कागज बनाएकोबारे अनुसन्धान नगरेको, नक्कली ऋणीको र उनीहरुका आफन्तको सम्पति कति थियो भन्ने नहेरेको, नक्कली ऋणीको र उनीहरुको घरको स्थिति नहेरेको, नक्कली ऋणीको बैंक खाता नहेरेकोलगायतका आरोप लगाएका छन् । 

तत्कालीन क्यापिटल मर्चेन्ट एण्ड बैंकमा ऋण तिरिसकेका ११ जना ऋणी अझै सजाय भुक्तानका लागि जेलमा छन् । नक्कली ऋणी तयार गर्ने शम्भु केसीले स्थानीय साक्षी राखेर राष्ट्र बैंकको उपस्थितिमा गरिएको सम्झौता अदालतमा नहेरेको स्थानीय महेश केसीको आरोप छ । ‘नक्कली ऋणीहरु नक्कली नै हुन्, उनीहरुले एक पैसा पनि लिएका छैनन् र उनीहरुको पुरै जिम्मा म आफँै लिन्छु’ भनेर शम्भु केसीसँग गरिएको कागजात नै गायब बनाएको र यसबारे अदालतले नहेरेको केसीको आरोप छ । 

मुद्धाले ठूलो रुप लिएर नक्कली ऋणीहरु पक्रन थालेपछि नक्कली ऋणीहरूले नै धितो बिक्री गरेर फाइनान्सको आधा कर्जा चुक्ता गरिसकेका छन् । बनेपाका केसी खलकहरुको नाममा नक्कली कागजात बनाएर झण्डै २ अर्ब रुपैयाँ पवन कार्की र शम्भु केसीलगायतको टिमले चलाएको थियो । अहिलेसम्म नक्कली ऋणीहरुले १ अर्ब १४ करोड रुपैयाँ तिरिसकेका छन् । 

पवन कार्कीले आफ्नै ससुरालीका सदस्य र शम्भु केसीले आफ्नै दाजुभाइ र छिमेकी फसाएका थिए । सामान्य लेखपढसमेत नजान्ने बनेपा –६ की शान्ति केसी चार वर्षदेखि जेलमा हुनुहुन्छ । उहाँसँगै मदन केसी सेन्ट्रल जेलमा हुनुहुन्छ । त्यस्तै, हरिप्रसाद आचार्य र प्रकाश खत्री नख्खु कारागारमा छन् भने पूर्णबहादुर केसी, प्रकाश केसी, श्याम खत्री, आनन्द थापा, अनिल थापा र राम आचार्य धुलिखेल कारागारमा छन् । उनीहरुमाथि ७ वर्षदेखि १३ वर्षसम्मको सजाय तोकीएको छ । सजाय भोगरहेका हरिचन्द्र केसीको भने कारागारमा नै ज्यान गएको छ । एक माफिया समूहको प्रभावमा पारेर क्यापिटल फाइनान्सको समस्या हल नभएको र अमेरिकामा बसेर पवन कार्कीले नै चलखेल गर्दै आएको पीडितहरूको गुनासो छ । 

कसरी बनाइयो नक्कली ऋणी ?

क्यापिटल मर्चेन्ट बैंकको ठगीको कुरामा शम्भु केसी, बैंकका कर्मचारी र उनीहरुसँग सम्बन्धित बाहिरी समूहको मात्र कुराहरु आएको पीडित पक्षको गुनासो छ । पीडितहरुका अनुसार अनुसार हेटौँडा बस्ने पूर्व प्रधानपञ्च नीलशंकर श्रेष्ठले रिसोर्ट बनाउन ऋण लिएर धेरै अगाडी ऋण चुक्ता पनि गरी सकेका रहेछन् । तर शम्भु केसी र बैङ्कका व्यक्तिहरु मिलेर नीलशंकरकै कागजातको प्रयोगमा किर्ते गरी अर्को ८ करोड रुपैयाँ ऋण उनको नाममा निकालेका रहेछन् ।

त्यस्तै, हरिप्रसाद आचार्यले व्यवसाय गर्न साँच्चिकै ऋण लिएर व्यवसाय गर्नुभएको थियो । पछि उहाँको नाममा रहेको ऋणमै पैसा थपेर माफियाहरुले पैसा निकाले । २२ लाख ऋण लिनुभएका आचार्यले ऋण तिरेर सक्नै लाग्नुभएको थियो पछि पत्रिकामा उहाँको नाममा २२ करोड रुपैयाँ ऋण भएको सूचना निक्लियो ।

ऋण तिर्न नसकेर उहाँको आफ्नो धितोमा राखिएको घर लिलाम भयो । अहिले उहाँ अदालतको फैसला पछि ७ वर्षे सजायको लागि नख्खु कारागारमा हुनुहुन्छ । त्यस्तै नक्कली कागजमा फस्ने प्रकाश खत्री नख्खु कारागारमा सजाय कटाइरहनुभएको छ । 

नक्कली कागजात कसुरमा पत्रिकामा नाम निक्लिएपछि खत्रीले आफ्नो सम्पति बेचेर आफ्नाे नाममा भएको ८ करोड ५० लाख रुपैयाँ चुक्ता गर्नुभएको थियो । तर उहाँलाई बैकिङ कसुरको नाममा समातियो र भक्तपुर जिल्ला अदालतले १३ बर्षको जेल सजाय सुनायो ।

बनेपाकै शान्ति के.सी जसले बैंकको कागजात र चेकमा सहीसमेत गर्न जान्नु भएको छैन तै पनि उहाँको नाममा ऋण भएको भन्दै प्रहरीले समात्यो । उहाँ पनि ४ वर्षदेखि केन्द्रीय कारागारमा  हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया