५० भन्दा बढी चियाको स्वाद एउटै पसलमा !

 मंसिर ११, २०७६ बुधबार १२:५३:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा पछिल्लो समय बजारको मागमा आधारित भएर नयाँ प्रकारका व्यवसाय सुरु भैरहेको छ । यही क्रमलाई निरन्तरता दिँदै चियाका पारखीहरुलाई केन्द्रमा राखेर फरक किसिमको चिया पसल सञ्चालनमा आएको छ । 

सामान्य लगानी र सामान्य व्यवस्थापनभन्दा अलि माथि नै उठेर ठूलै लगानीमा व्यवस्थित चिया पसल सञ्चालनमा आएको हो । घोराही उपमहानगरपालिका १५ को काठेकोहोल चोकमा रहेको गणतन्त्र दैनिकको कार्यालय छेउमा 'किट्ली टि टाउन'मा अब ५० भन्दा बढी स्वादका चिया पिउन पाइने भएको छ ।  

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा चर्चित मानिएका चियाहरु अब एउटै ठाउँमा पाइने गरी 'किट्ली टि टाउन' सञ्चालनमा ल्याइएको अनु क्षेत्रीले बताउनुभयो । ‘संसारमा पेय पदार्थहरुमध्ये पानीपछि सबैभन्दा बढी चिया पिउने गरेको अध्ययनले देखाएको छ ।’

सञ्चालक क्षेत्रीले भन्नुभयो, ‘नेपालमा पनि लामो समयदेखि चिया खाने प्रचलन सुरु भएको छ र अहिले चियालाई मानिसको जीवनको अभिन्न अंगको रुपमा हेर्न थालिएको छ ।’ 

नेपालका विभिन्न स्थानमा पाइने चिया र अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाएका चियाहरु अब किट्ली टि टाउनमा पाइने सञ्चालक क्षेत्रीले बताउनुभयो । झण्डै १० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको किट्ली टि टाउनमा गाउँघरमा पाइने विभिन्न जडिबुटीका चियादेखि दाङमा पाइने सामान्य चिया र नेपालका विभिन्न स्थानमा पाइने चियासमेत पाइने अर्की सञ्चालिका हिमानी डिसीले बताउनुभयो ।

 ‘दाङमा अहिलेसम्म सामान्यरुपमा मात्रै चिया पिउने गरेको पाइन्छ, अहिले चियासँग मानिसको स्वास्थ्य र प्रतिष्ठासमेत जोडेर हेर्ने गरिएको छ,’ उहाँले भन्नुभयो,  ‘एउटै पसलमा ५० भन्दा बढी प्रकारका चियाहरु पाउने ठाउँ बनेको छ, मानिसको स्वास्थ्यलाई ख्याल गरेर चिया पिलाउने वातावरण बनाएका छौँ ।’
। ‘

जिल्लामा पहिलो पटक खोलिएको चिया पसल सञ्चालनमा केही समस्या देखिए पनि एकै ठाउँमा ५० भन्दा बढी चिया पाइने कुरा सबैको आकर्षणको केन्द्र बन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया