राती निकाल्छन् क्रसर उद्योगले नदीबाट बालुवा

 साउन ३, २०७५ बिहिबार ६:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - स्थानीय प्रशासनले नदीको सतह र धार नै परिवर्तन गर्ने गरी क्रसर संचालन गर्न रोक लगाएपनि बालुवा निकाल्ने क्रम रोकिएको छैन ।

मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटीमा रहेको पाल्चोकीमाई ईन्फ्रास्टक्चर प्रालि र पाल्चोकीमाई रोडा ढुङ्गा प्रालिले ईन्द्रावती नदीबाट नियमविपरित बालुवा उत्खनन् गरिहेकोप्रति स्थानीयबासिन्दाले गुनासो गरेका छन् ।

बाहुनेपाटीमा रहेका दुई क्रसरले विगत १० दिनदेखि राती १० बजेदेखि बिहान ४ बजेसम्म ईन्द्रावती नदीबाट बालुवा निकाल्ने गरेको स्थानीयबासिन्दाको भनाई छ । आफूहरुको धानबाली समेत मिचेर अबैधानिक रुपमा नदीबाट बालुवा निकाल्दा समेत स्थानीय प्रशासन मौन रहेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् । 

मेलम्ची नगरपालिका र ईन्द्रावती गाउँपालिकाले इन्द्रावती नदी किनारबाट जथाभावी बालुवा उत्खनन गर्न रोक लगाएका छन् । तर क्रसरले जथाभावी बालुवा उत्खनन गरे पनि यसमा नगरपालिका र गाउँपालिकाले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

जिल्ला संमन्वय समितिले वर्खाको समय खोलामा क्रसर चलाउन रोक लगाएको छ । जिल्ला संमन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले प्रशासनको आँखा छलेर हुने यस्ता गतिविधि रोक्न स्थानीय बासिन्दाले नै सहयोग गर्नुपर्ने बताँउदै आउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया