मोटरसाइकल चालकले यी कुरामा ध्यान दिऔँ

 मंसिर १७, २०७६ मंगलबार ८:३७:३४ | सिताराम हाछेथु
unn.prixa.net

सजिलो, सस्तो र छिटो हुने भएकाले मोटरसाइकल लोकप्रिय यातायातको साधनमा पर्छ । ट्राफिक प्रहरी महाशाखाको आँकडाअनुसार काठमाण्डौमा मात्रै १० लाखभन्दा बढी मोटरसाइकल गुड्छन् ।

यात्रा गर्न सहज भए पनि मोटरसाइकल निकै जोखिमपूर्ण यातायातको साधन हो । लड्दा होस् या कतै ठोक्किँदा, सबैभन्दा बढी असर मोटरसाइकल र चालकलाई पर्ने गर्छ । मोटरसाइकल लिएर सडकमा निस्किएपछि जोखिम कम गर्न र हुनसक्ने सम्भावित दुर्घटना र असरबाट बच्न चालकले केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

१) आफ्नो उचाइ र तौलअनुसारको मोटरसाइकल

धेरैले विलासिताको लागि र स्टाइल देखाउने किसिमको मोटरसाइकल किन्नुहुन्छ । जुन उहाँहरुको उचाइ र तौलले धान्न सक्ने खालको हुँदैन । होचो मान्छेले आफ्नो उचाइअनुसार र पातलो मान्छेले आफ्नो तौलअनुसारको मोटसाइकल किन्नुपर्छ । यसो हुँदा त्यो व्यक्तिले अप्ठेराे परेकाे बेला मोटरसाइकल थाम्न सजिलो हुन्छ । 

२) लुकिङ ग्लासको सही प्रयोग    

मोटरसाइकलमा प्रयोग भएको लुकिङ ग्लासको प्रयोगबाट पनि दुर्घटनाबाट बच्न सकिन्छ । लुकिङ ग्लास भनेको पछाडिको आँखा हो । आफ्नो पछाडि कुन गाडी आइरहेको छ ? कति स्पीडमा आइरहेको छ ? भन्ने कुराको जानकारी लिंँदै सुरक्षित रुपमा गुड्न लुकिङ ग्लासले सहयोग गर्दछ ।

कुनै ठाउँबाट दायाँबायाँ मोडिंदा, मोटरसाइकल घुमाउँदा लुकिङ ग्लासको निकै महत्वपूर्ण हुन्छ । तर अहिले विभिन्न स्वरुपमा साना लुकिङ ग्लासको प्रयोग गर्दा पनि चालकहरु असुरक्षित हुने गरेका छन् । कम्पनीले मोटरसाइकलमा प्रयोग गरेको लुकिङ ग्लास विभिन्न परीक्षणबाट पास गरिएको हुनाले यसको स्वरुपमा परिवर्तन गरेर नचलाउने गर्दा चालक सुरक्षित हुन सक्छन् ।

३) गुणस्तरीय हेल्मेटको प्रयोग

बजारमा विभिन्न स्वरुपका हेल्मेटहरु पाइन्छन् । जसले सुरक्षाभन्दा पनि राम्रो र स्टाइलमा बढी केन्द्रित भएको देखिन्छ र मोटरसाइकल चालकको छनोटमा पनि सुरक्षा भन्दा पनि देखावटीपन परेकोले चालक जोखिम परेका छन् ।

मोटरसाइकल चालकले आफ्नो टाउकोलाई राम्ररी छोप्ने र मोटरसाइकल लड्दा टाउकोमा चोट लाग्नबाट रोक्ने किसिमको हेलमेट प्रयोग गर्नुपर्छ । बलियो, गुणस्तरीय किसिमको हेल्मेट चालकको पहिलो छनोट हुनुपर्छ । साथै हेलमेटको फित्तालाई राम्रोसँग बाधेर मोटरसाइकल चलाउनुपर्छ । फित्ता बाँध्न ५ सेकेन्ड लाग्न सक्छ तर त्यो ५ सेकेन्डको सही प्रयोग नगर्दा ज्यान नै जोखिममा पर्न सक्छ ।

४) हतार गरेर नचलाउने र गति कम गर्ने

सडकमा हुने दुर्घटनाको मुख्य कारणमध्येको एक तीव्र गति हो । निस्किने हामी सबैलाई निकै हतार हुने गर्दछ । घरमा बस्दासम्म समयको कुनै ख्याल हुँदैन, हामी फुर्सदमा हुन्छौँ तर सडकमा निस्किएपछि हामीलाई हतारो हुन थाल्छ ।

सडकमा हुने दुर्घटनाको मुख्य कारण भनेको तीव्र गति हो । जति गति कम हुन्छ त्यति दुर्घटना हुने सम्भावना कम हुन्छ । गति बढाउने त चालकले हो तर जतिजति गति बढ्दै जान्छ त्यति नै मोटरसाइकल वा अन्य गाडीहरु चालकको नियन्त्रण बाहिर हुँदै जान्छ ।

त्यसैले आफूले हाँक्ने मोटरसाइकल र गाडीलाई आफ्नो नियन्त्रणमा राख्न, सहज र सुरक्षित यात्रा गर्न गतिमा नियन्त्रण हुनु आवश्यक हुन्छ ।

५) इन्डिकेटर र साइड लाइटको प्रयोग गर्ने

मोटरसाइकल चालकले सडकमा निस्किएपछि सुरक्षित यात्रा गर्नको लागि मोटरसाइकलको इन्डिकेटरको प्रयोग राम्रोसँग गर्नुपर्दछ । आफू मोडिँदा , मोटरसाइकल घुमाउँदा दायाँबायाँ जता जाने हो, त्यतापट्टिको साइड लाइट बालेर पछाडि आउने गाडीलाई संकेत दिनुपर्छ ।

संकेत दिँदा आफू जाने ठाँउ आउनुभन्दा अलिक अघिदेखि नै साइड लाइट बालेर जानकारी दिनुपर्छ, जसले गर्दा पछाडिबाट आउने गाडिले आफ्नो गतिमा नियन्यण गर्न सकून् । आवश्यकताअनुसार चालकले हर्न र पास लाइटको पनि प्रयोग गर्नुपर्दछ ।

६) लेनमा बस्ने

मोटरसाइकल होस् या अरु गाडिहरु सबै लेनमा बस्नु निकै जरुरी हुन्छ । धेरैजसो हुने दुर्घटना लेन अनुशासन नमानेको कारण हुने गरेको ट्राफिक प्रहरी महाशाखाले बताउँदै आएको छ । बिना अनुमति तपाई कसैको घरमा पस्दा घरधनिले तपाईंलाई कुट्न सक्छ, प्रहरीमा चोर भनेर बुझाउन सक्छन् नि । हो ठ्याक्कै त्यस्तै लेन भनेको पनि घर हो । जसरी तपाई आफ्नो घरमा सुरक्षित हुनुहुन्छ । यसैगरी आफ्नो लेनमा बस्दा सुरक्षित बन्नु हुन्छ । 

७) जबर्जस्ती ओभरटेक नगर्ने

ओभरटेक गर्दा पहिला सडक राम्रो नियालेर विपरित दिशाबाट आउने गाडीको सङख्या र गतिलाई मध्य नजर गर्दै आफ्नो लेनमा गुडिरहेको गाडीलाई सकेंत दिएर ओभरटेक गर्नुपर्छ । नेपाल देब्रे प्रणालीबाट सडकमा गाडीहरु चल्ने गर्छन् ।

बस र सार्वजनिक गाडिहरुका बिसौनी बायाँतिर भएकोले बिसौनीतिर गाडीहरु जाँदा दुर्घटना हुने गर्दछ । त्यसैले ओभरटेक गर्दा दाहिनेतिरबाट गर्नुपर्छ । गाडीमा चालक सधैँ दाहिनेतिर बसको हुन्छ । दाहिने पट्टिबाट ओभरटेक गर्दा चालकले तपाईलाई सहज रुपमा देख्न सक्छन् । चालक दायाँतिर हुने हुदाँ बायाँतिर कम मात्रै देख्न सक्दछ । 

८) ट्राफिक नियमको पालना गर्ने 

चालकहरुको सबैभन्दा नराम्रो बानी भनेको ट्राफिक प्रहरी देख्दा मात्रै नियम मान्ने नत्र जथाभावी चलाउने गर्नु हो । आफ्नो ज्यानको भन्दा पनि ट्राफिकको सिट्टीसगँ डराउने प्रवृत्ति हट्नु जरुरी छ । हेलमेट नलगाइ चलाउने, ३ जना राखेर हाँक्ने, मोटरसाइकलको क्षमताभन्दा बढी भारी बोकेर हिड्ने हेर्दा सामान्य कुराहरुको ख्याल नगर्नु पनि दुर्घटनाको कारण हो ।

ट्राफिक नियमले आफूलाई बाध्नको लागि होइन, सुरक्षित बनाउनको लागि हो भनेर सचेत हुने हुदाँ पनि सुरक्षित बन्न सकिन्छ । आफूले जानेको ट्राफिक नियमको बारेमा अरुलाई पनि सिकाउने र यसको महत्वको बारेमा बुझाउने गर्नुपर्छ ।

१) तीव्र गतिमा नचलाउने
२) जाँड रक्सी खाएर मोटरसाइकल नचलाउने
३) लुकिङ ग्लासको प्रयोग गर्ने
४) आफ्नो लेनमा बस्ने
५) बायाँतिरबाट ओभरटेक नगर्ने
६) साइड लाइट र इन्डिकेटरको प्रयोग गर्ने
७) ट्राफिक नियमको पालना गर्ने
८) आफ्नो तौल र उचाइ अनुसारको सवारी चलाउने
९) बलियो हेल्मेटको प्रयोग गर्ने र फित्ता राम्ररी बाँध्ने 
१०) मोटरसाइकलको क्षमताभन्दा बढी भारी र मानिस नबोक्ने
 

अन्तिम अपडेट: चैत १३, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया