सागको उद्घाटन आज, भलिबलको सेमिफाइनलसहित ब्याडमिन्टन, खोखो र करातेका खेल हुने

 मंसिर १५, २०७६ आइतबार ८:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नुहुनेछ । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् ।

तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराई, बहुजातीय, भेषभुषाको विविधता झल्किने झाँकीहरु पनि प्रस्तुत हुनेछ ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढीको सहभागिता रहनेछ । यस्तै, सहभागि देशका खेलाडीले मार्चपास गर्नेछन् ।

उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन् । अञ्जु पन्त, दिपक बज्रचार्यलगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् ।

उद्घाटनसँगै भलिबलको सेमिफाइनल खेल हुनेछ भने ब्याडमिन्टन, खोखो र करातेको पनि उद्घाटन हुनेछ ।

ब्याडमिन्टन

पोखरा कवर्डहलमा आइतबार टिम इभेन्टका खेलहरु सञ्चालन हुँदैछन् । बिहान १० बजेदेखि टिम इभेन्टका खेलहरु सुरु हुनेछन् । पुरुषको टिम इभेन्टमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ भने महिलातर्फ नेपालको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ ।

म्याच सुरु हुनु भन्दा अघि बस्ने प्रशिक्षक दलको बैठकपछि टिम इभेन्टमा को को खेलाडी समावेश हुनेको त्यो टुंगो लाग्नेछ ।

सागका लागि ब्याडमिन्टनमा नेपालबाट १० पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

पुरुषतर्फ रत्नजित तामाङ्ग, दिपेश धामी, बिकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छन् । यस्तै महिला तर्फ नङ्गशल तामाङ्ग, रशिला महर्जन, जेशिका गुरुङ्ग, सिमा राजबंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सिता राई, निता लम्साल र शोभा गौचन छन् ।

कराते

करातेको उद्घाटन आइतबार नै हुनेछ । उद्घाटन आइतबारदेखि हुने भए पनि खेलहरु भने साेमबारदेखि संचालन हुनेछन् । आइतबार खेलाडीको वजन नाप्ने, दर्ता गर्ने र प्रशिक्षक, ब्यवस्थापक र रेफ्रीको सेमिनार हुनेछ । र, त्यसपछि उद्घाटन समारोह हुनेछ ।

खोखो

खोखोका खेलहरु पनि आइतबारदेखि नै सुरु हुँदैछन् । बिहान ८ बजे उद्घाटन भएपछि पुरुषतर्फ भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि नेपाल र बंगलादेशीच प्रतिस्पर्धा हुदैछ ।

महिलातर्फ नेपालले बंगलादेशसँग खेल्नेछ । यो खेल एघार बजे हुनेछ । त्यसपछि भारत र श्रीलंकाबीच १२ बजे प्रतिस्पर्धा हुनेछ । खोखोमा चारवटा टिममात्र सहभागि भएका कारण राउण्ड रोविन लिगमा सञ्चालन हुनेछ ।

भलिबल

भलिबलतर्फ पुरुष विधाका दुई सेमिफाइनल पनि आइतबार नै हुनेछन् । सेमिफाइनलमा भारत श्रीलंकासँग र पाकिस्तान बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया