माटोबिना तरकारी फलाएर गाउँलेलाई चकित बनाए युवाले

 साउन ३, २०७५ बिहिबार ९:२०:३८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – माटोबिना तरकारी खेती हुन्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । सुन्दै अचम्म लाग्दो यही प्रविधिको तरकारी खेती थालेका छन्, तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलाका युवाहरुले ।

यहाँका १० जना युवाको समूहले माटोबिनाको तरकारी खेती थालेको हो । माटोबिना उनीहरुले तरकारी फलाउन समेत थालिसकेका छन् । कृषक समूहको रुपमा गठन भएपछि उनीहरुले राष्ट्रिय युवा स्वरोजगार कोषबाट बिना धितो पाँच लाख रुपैयाँ ऋण लिए । यही रकम सामुहिक रुपमा लगानी गरी आफूहरुले माटोबिनाको तरकारी खेती गरेको युवा समूहका सचिव २६ वर्षीय अनिल नेपाल बताउनुहुन्छ ।

नेपाल पढाईमा स्नात्तकोत्तर हुनुहुन्छ । अहिले वडा सदस्यमा समेत निर्वाचित भएर समाजसेवामा क्रियाशील नेपालले कृषि पेशामै उल्लेख्य सम्भावना भएको भन्दै गाउँमा युवा समूह खोलेर आधुनिक प्रविधिको उपयोग गरेर कृषि पेशामा लाग्नुपर्ने भन्दै माटोबिनानै तरकारी फलाउने अभियान थाल्नुभएको हो ।

सिँचाईका लागि पर्याप्त पानी नहुँदा आफ्ना भान्सामा समेत बजारको तरकारी पकाउने यो गाउँका युवाहरुले माटोबिना नै तरकारी फलाएर गाउँलाई चकित पारेका छन् । सुख्खाग्रस्त गाउँमा सिँचाईका लागि पानी नहुँदा तरकारी लगायतका बाली राम्रो हुने गरेको छैन । ‘माटो त हाम्रोमा जत्ति छ, तर सिँचाई छैन,’ युवा किसान नेपाल भन्नुहुन्छ, ‘पानी नभएका ठाउँमा तरकारी नफल्ने । त्यसैले हामीले माटोबिनाको तरकारी खेती थालेका हौं ।’

युनिक युवा कृषक समूहले माटोबिना नै खेती गर्न सकिने हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती थालेको हो । सुरुवातमा परीक्षणका लागि सामूहिक रुपमा खेती लगाइएको र पछि सम्भावना हेरेर लगानी गर्ने तयारी किसानको छ ।

यो प्रविधिको खेतीमा नरिवलको जटा पेलेर बनाइएको ढुटो गमलामा राखिन्छ । र त्यसैमा बिरुवा रोपिन्छ । यो तरिकाले खेती गर्दा श्रम शक्ति थोरै लाग्ने, पानी पनि धेरै नलाग्ने उनीहरु बताउँछन् । यस्तो प्रविधिको बारेमा पत्रपत्रिकामा पढेपछि यूट्युबमा सर्च गरेर अध्ययन गरेको र माटोबिनाको तरकारी खेती थालेको समूहका सचिव नेपालले बताउनुभयो ।

‘पहिले त मलाई पनि अचम्म लाग्यो,’ नेपाल भन्नुहुन्छ, ‘पछि अलि बुझ्दै गएपछि त्यही प्रविधि अपनाएर सुख्खाग्रस्त हाम्रो जस्तो गाउँमा खेती गर्न सकिने सम्भावना देखें, र गाउँमा साथीहरुसँग सल्लाह गरेर खेती थालियो ।’ समूहले अहिले परीक्षणका लागि थालेको खेतीबाट उत्पादन भएको तरकारी र फलफूल उनीहरुले चाख्न पनि पाइसकेका छन् । ‘जहाँ माटो कम छ, जहाँ पानीको कम छ, त्यहाँ यो प्रविधिको खेती गर्न सकिन्छ,’ नेपाल भन्नुहुन्छ ।

पहिलो चरणमा टमाटर, रायो साग, धनियाँ, काँक्रा लगायत तरकारी लगाएको र ती तरकारी तथा फलफूल आफूहरुले प्रयोगमा समेत ल्याएको समूहका सदस्य बसन्त आछामेले बताउनुभयो । आछामे भन्नुहुन्छ, ‘यस्तो प्रविधिको देखेकै थिइनँ, सुनेको कुरा यहाँका कृषि प्राविधिकले समेत केही सल्लाह दिएनन्, हामीलाई यो खेतीको बारेमा सिकाउने गुरु चाहिँ इन्टरनेट नै हो ।’ माटोबिनाको तरकारी खेतीकै रुपमा युवा समूहले च्याउ खेती समेत लगाएको छ । 

हाइड्रोपोनिक प्रविधिको खेतीमा भने पहिलो चरणमा अभ्यासका लागि एउटा प्लाष्टिक टनेल भित्र धनियाँ, गोलभेंडा, रायो र काँक्राको खेती लगाइएको समूहका अर्का सदस्य सन्जय गुरुङले बताउनुभयो । ‘खेतबारीमा जस्तो खनजोत गर्नु पर्दैन, पानी पनि कम मात्रै लाग्छ, त्यसैले यो खेती थालेका हौं’ उहाँले भन्नुभयो । जिल्लामै पहिलो पटक अभ्यासमा आएको यो खेती प्रविधि नेपालका थोरै ठाउँमा मात्रै हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् ।

‘परम्परागत खेती नै गर्नुपर्छ भन्ने छैन, नयाँ पुस्ताले नयाँ प्रविधि अपनाएर कृषि क्षेत्रका काम गर्न सकिन्छ भन्ने देखाउन पनि यो प्रविधि रोजेका हौं’ समुहका सचिव नेपालले भन्नुभयो ।

उनीहरुले सिंचाईका लागि ५ सय लिटरको ड्रममा पानी जम्मा गरेर राखेका छन् । त्यही पानी दिनमा दुई दिन चरणमा थोपा सिँचाई गरिन्छ । ‘यसमा धेरै पानी चाहिँदैन, यसकारण पनि यो सजिलो छ,’ उहाँले भन्नुभयो ।

समूहले बकेटमा कोकोपिट राखेर विभिन्न तरकारी बालीका बेर्ना समेत उत्पादन गरेको छ । यसमा एक पटक लगानी गरेपछि लामो समयसम्म लगानी नपर्ने र त्यसकारण पनि यो प्रविधि किफायती हुने युवाहरुको तर्क छ ।

युवाहरुले खेती थाल्दै गर्दा गाउँमा धेरैले माटो विनाको तरकारी खेती सम्भव नहुने बताएका थिए । तर अहिले फलेको तरकारी भान्सामा पकाएर उपभोग गर्न पाउन थालेपछि तम्फुलाबासी समेत दङ्ग परेका छन् ।

समूहले लगाएको च्याउ खेती आम्दानीको राम्रो श्रोत बनेको छ । च्याउ खेतीबाट मासिक २० हजार बढी आम्दानी भइरहेको समूहका सदस्य आछामेले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया