धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी

 मंसिर १६, २०७६ सोमबार ९:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपचुनाव भएका ५२ ठाउँमध्ये दुई ठाउँको मात्र नतिजा आउन बाँकी छ । धरान उपमहानगरपालिको प्रमुख र धरानकै वडा नं. ७ को वडाध्यक्षबाहेक अरु सबै ठाउँको मतपरिणाम सार्वजनिक भएको हो ।

दुई ठाउँको मतपरिणाम सार्वजनिक हुन बाँकी रहँदा सत्तारुढ नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी भएका छन् । 

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।

प्रदेशसभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ भने दाङमा नेकपाले र बागलुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् ।

उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहोर्‍याएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेशसभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ ।

प्रदेशसभामा जित दोहोर्याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्‍याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुईवटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ ।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया