आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले एक गोलको अग्रता जोगाउन सकेन । खेलको सुरुवातमा केही सुस्त देखिएको नेपालले त्यसपछि आफ्नो गतिलाई बढाउदै दुई वटा सुन्दर मौका पाएको थियो । तर त्यसमा चुक्न पुग्यो ।
खेलको ३३ औंँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पाएको थियो । अनन्त तामाङलाई श्रीलंकाली खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरे । याे गाेल उनको जारी प्रतियोगितामा तेस्रो गोल हो । उनले भुटानविरुद्ध दुई गोल गरेका थिए ।
४२ औंँ मिनेटमा नेपालले अर्को मौका पाएको थियो । नेपालका मिक्चेनले गोलकिपरलाई छलाउँदै प्रहार गरेको बललाई श्रीलंकाका खेलाडीले बचाए । त्यसको अर्को मिनेटमा नेपालले फेरि अर्को गोलको अवसर सिर्जना गर्यो तर कप्तान सुजल श्रेष्ठको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफकाे सुरुवातमा नै अर्को मौका पाएको थियो । ४९ औंँ मिनेटमा अभिशेक रिजालको कर्नरमा विक्रम लामा चुक्न पुगे । त्यसपछि श्रीलंकाले एउटा डरलाग्दो प्रहार गरे पनि नेपाली गोलकिपर विकेश कुथुले बचाए । ८३ औंँ मिनेटमा नेपालले अर्को सुन्दर अवसर पाएको थियो जसमा अनन्त तामाङ डी-बक्स भित्र चुक्न पुगे ।
एक गोलले पछि परेको श्रीलंकाले खेलको इन्जुरी समयमा फ्रीकिकमार्फत उत्कृष्ट गोल गोल फर्काउन सफल भयो ।
बराबरीले नेपालकाे दुई खेलबाट चार अंक भएको छ ।