हैदराबाद सामूहिक बलात्कार प्रकरण : प्रहरी इन्काउण्टरमा ४ जना आराेपी मारिए

 मंसिर २०, २०७६ शुक्रबार १०:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण भारतको हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जना आराेपी इन्काउन्टरमा मारिएका छन्  ।

अनुसन्धानका क्रममा चिकित्सकको हत्या गरिएको ठाउँमा लिएर गएका बेला उनीहरु भाग्न थालेपछि इन्काउन्टर गरिएको हैदराबाद प्रहरीले जनाएको छ । घटनाकाे अनुसन्धान गर्न चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको ठाउँमा लगेकाे थियाे ।

तर प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले शुक्रबार बिहान तीन बजेतिर उनीहरूको भिडन्तमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ ।

उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् । 

गएको साता पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतभर घटनाको विरोधमा प्रदर्शन भएको थियो । सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो ।

मृतकका बुवाले पनि दोषीलाई जतिसक्दो चाँडो कारबाही गर्न माग गरेका थिए । तेलंगना राज्यका मुख्यमन्त्री के.चन्द्रशेखरले बलात्कार तथा हत्या जस्तो जघन्य अपराधका घटनाको फैसला गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्न आदेश दिनुभएको थियो । 

संसदमा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई दण्ड दिनुपर्ने माग पनि गर्नुभएको थियो । दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै घटनामा संलग्न चारै जनालाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने माग राख्नुभएको थियो ।  

नोभेम्बर २८ को साँझ स्थानीय समय अनुसार ६ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् । त्यसको भोलिपल्ट बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि फेला परेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया