नेपालमा प्याज महँगो कि साग ?

 मंसिर २१, २०७६ शनिबार ८:२९:५३ | मिलन तिमिल्सिना
unn.prixa.net

प्याजको भाउ बढेर खाउँ कि छोडौं भैरहेको बेला देशमा एकाएक सागको चर्चा चुलिएको चुलियै छ । कोही भन्छन् – भारतमा प्याज महंगो, नेपालमा साग सस्तो । कोही थप्छन् - नेपालीलाई त साग केही होइन, अरु देशलाई चाहिँ साग महँगो ।

हुन पनि महँगिएको प्याजलाई पुरै छोप्नेगरी साग चम्किएको चम्क्यै छ । साग अन्त भएको भए, नेपाललाई महँगो हुन्थ्यो, अरुलाई सस्तो । धन्न यसपालि नेपालमै साग भयो । त्यसैले नेपाललाई भन्दा अन्तकालाई साग महँगो भयो, नेपाललाई सस्तो ।

महँगो प्याजमा साग मिसाएपछि रंगशालालाई पनि सागबारी नै भन्नुपर्यो । केही दिन अघिसम्म सागबारीमा साग हुन्छ कि हुन्न भन्ने ठूलो चिन्ता थियो । बारी भताभुंग थियो । खनजोत, बारबेर केही थिएन । सबैतिर भद्रगोल ।

सागको बेला नभएको भए अहिले पनि बारी उस्तै हालतमा हुन्थ्यो । बनाएर उतिखेरै बन्ने अवस्था भए पनि कसैलाई बनाउन जाँगर चल्दैन थियो । धन्न जसरी पनि अहिले नै साग हराभरा भएको देखाउनुपर्ने बाध्यता भयो । अरुलाई देखाउने मामिलामा हाम्रो सरकार अरुभन्दा अघि छ । रातारात बनाउन र टल्काउन सिपालु छ ।

सागबारीमा साग नै सोत्तर हुनेगरी गोर्खालीले अरुको सातो लिए । सुनै सुनको वर्षा भयो ।

पहिले सार्क हुँदा र विदेशका गन्नेमान्ने पाहुना आउँदा विदेशकै झल्को दिनेगरी बाटाघाटा र चोक रातारात सिंगारेको अनुभव भएकाले सागबारीलाई पनि उसैगरी उतिखेरै झकिझकाउ बनाइयो । झिलिमिली बत्ती, नाचगान, कला, संस्कृति देखेर विदेशी खेलाडी पनि तीन छक परे । कतिलाई लाग्यो होला, सागमा पाएको मेडल बेचेर काठमाण्डौमै घर बनाएर बसौं । तर घर फर्कने बेलासम्म सागबारी यस्तै झकिझकाउ हुने हो कि होइन, शंकै छ । किनकी सागबारी हेर्न जानेहरु बस्ने कुर्सीमै उभिएर नाच्न थालिसके । बस्नको लागि बनाइएको कुर्सीमा टेकेर हिँड्न थालेपछि कति दिन रहला र ? यस्तै मान्छेहरु थपिन थाले भने सागबारीको हालत पहिलेजस्तै नहोला भन्न सकिन्न ।

पछिसम्म सागबारी कस्तो होला, त्यो त पछि नै देखिएला । तर अहिले नै सागको भाउ देखेर भने धेरैले धेरैथरीका हरहिसाब गर्न थालेका छन् । अरुथोक अरुकै राम्रो लागे पनि खेतबारी आफ्नै राम्रो लाग्छ । साग पनि आफ्नै बारीको मिठो हुन्छ ।

त्यसैले नेपाली खेलाडीलाई आफ्नै बारीको साग मिठो भयो । अरुले फलाएको प्याज किनेको भए महंगो हुन्थ्यो, तर आफ्नै बारीको साग सस्तो पर्यो । सुरुमै सागबारीमा हानाहान र माक्कामुक्की खेल पर्यो । हान्ने, पछार्नेमा गोर्खालीलाई कसले सकोस् !  सागबारीमा साग नै सोत्तर हुनेगरी गोर्खालीले अरुको सातो लिए । सुनै सुनको वर्षा भयो ।

तेक्वान्दो, कराँते, उस्सुजस्ता हानाहान गर्ने खेलमा नेपालले सबैभन्दा धेरै सुन बर्साएको छ । गोर्खे पारा देखेर अरुलाई फेरि लाग्यो, नेपालमा साग साह्रै महंगो रहेछ हामीले त चिताउनै परेन । नेपालीलाई पनि लाग्यो, हाम्रो लागि प्याज मात्रै महँगो हो यति जाबो साग त अझै कति खान्छौं, कति । सागमा सुन छरेर अरुभन्दा पहिलो हुने नेपालीको चाहना पूरा नभए पनि यसअघिको सागभन्दा अहिलेको साग हराभरा भएको चाहिँ पक्कै हो ।

प्याज महँगो बनाउने भारतले नै सागको भाउ पनि महंगो बनाइसक्यो । तै पनि नेपालीले चित्त बुझाएका छन्, पहिलेपहिलेको भन्दा यसपालि साग नेपालको लागि सस्तै हो । प्याज महँगो भएको बेला सागमा धेरै सुन र अरु पदक बर्साउन सक्नु पनि सफलता हो ।

तर सागमा सुनको सुगन्धसँगै दौरासुरुवालको गन्ध पनि मिसिएको छ । सागबारीलाई अझै मलिलो र खेलाडीलाई अझै हौसला थप्नुपर्ने बेला आयोजकले मन्त्रीलाई सागकै नाममा दौरासुरुवाल बाँडेछन् । दौरासुरुवाल लगाएर सागबारी हेर्न जान कतिपय मन्त्रीले पनि मुख लोभ्याए ।

अनि अरुबेला जताततै छ्यास्छ्यास्ती गोली र बन्दुक पाउने देशमा खेलाडीले खेल्ने बन्दुक पनि पाएनन् ।  अर्काको माग्नु पर्यो । सुनको तक्मा लगाएर उफ्रिएका अरु खेलाडीको पनि गुनासै गुनासो छ ।

खेलाडीको यस्तै गुनासो भैरह्यो भने नेपालीलाई प्याजसँगै फेरि साग पनि महँगो हुन्छ । बोडी, भटमास, गुन्द्रुक, मस्यौरा पनि महँगो हुन्छ । गज्जबको सागबारी बनायौं र सागमा सुन छर्केर उधुम गर्यौं भनेर मख्ख परेकाले यो कुरा बुझेका होलान् त ?

अन्तिम अपडेट: बैशाख २, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Devendra lal Shrestha

    Dec. 7, 2019, 9:18 a.m.

    Milan, I like the way you brought the pain of the SAG players in a humorous style.

  •  0 Reply

तपाईको प्रतिक्रिया