भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन अमेरिका र बेलायतकाे सुझाव

 मंसिर २१, २०७६ शनिबार ८:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिका र बेलायतले भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन सुझाव दिएको छ ।

पछिल्लो समय भारत महिलाका लागि असुरक्षित बन्दै गएको भन्दै अमेरिका र बेलायत सरकारले भारतमा बसोबास गर्ने वा भारत भ्रमणमा रहेका आफ्ना महिला नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेका हुन् ।

उनीहरुले आफ्ना देशका नागरिकलाई भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढिरहेकोतर्फ सचेत गराउँदै भारत भ्रमणका क्रममा सावधानी अपनाउन सुझाव दिएको हो । दुवै देशले कुनै दुव्र्यवहार भोग्नु परेमा प्रहरी समक्ष जान पनि सुझाव दिएका छन् ।

पछिल्लाे समय भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना दैनिक जसो हुन थालेका छन् । गएको मंसिर १२ गते हैदराबादमा नजिकै २६ वर्षीया डाक्टरको बलात्कारपछि हत्या भएकाे थियाे । बलात्कारकाे आराेपमा पक्राउ परेका चार जना आराेपी शुक्रबार हिरासतबाट भाग्न खाेजेपछि प्रहरी इन्काउण्टरमा मारिएकाे बताइएकाे छ । 

त्यस्तै उत्तर प्रदेशकाे उन्नावमा बलात्कार पीडित एक युवतीकाे शुक्रबार राति उपचारका क्रममा ज्यान गएकाे छ । सन् २०१८ काे डिसेम्बरमा ती युवतीमाथि सामूहिक बलात्कार भएकाे थियाे ।  केही आराेपी युवक पक्राउ परे पनि केही जमानतमा छुटेका थिए ।

बिहीबार मात्रै आराेपीमध्येकै केहीले मुद्दा फिर्ता लिन दबाब दिँदै ती युवतीलाई जिउँदै जलाएका थिए । एअर एम्बुलेन्सबाट ती युवतीलाई दिल्ली ल्याइए पनि उनलाई बचाउन भने सकिएन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया