मोडर्न भूमिकामा देखिँदै सृष्टि, सिनेमाका लागि सिकिन् पेन्टिङ

 साउन ३, २०७५ बिहिबार १५:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘रोमियो एण्ड मुना’ साउन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

यस सिनेमामा सृष्टि मुनाको भूमिकामा छिन् । मुना गाउँकी सोझी युवती हुन्छे जसलाई पेन्टिङमा रुचि हुन्छ । सिनेमामा सृष्टिले अभिनेता विनय श्रेष्ठको जोडी भएर काम गरेकी छिन् । सिनेमामा विनय शहरिया रोमियोको भूमिकामा छन् । 

यस सिनेमामा गाउँकी मुना र शहरको रोमियोको  प्रेम कहानी देख्न सकिन्छ । सिनेमामा पेन्टिङमा रुचि राख्ने मुनाको भूमिका निर्वाह गरेकी सृष्टिले यही सिनेमाकै लागि केही समय  पेन्टिङ पनि सिकेकी थिइन् । 

उनी भन्छिन्, ‘मैले यस सिनेमाको लागि पेन्टिङ सिकेँ । सिनेमामा देखाइने पेन्टिङहरुमा पनि केही मेरो योगदान छ । अझ भन्ने हो भने यो सिनेमाले म भित्र भएको अर्को प्रतिभा बाहिर ल्याएको छ ।’

सृष्टिले योसँगै तीन वटा सिनेमामा काम गरिन् । उनको अहिले सम्म एउटा मात्रै सिनेमा प्रदर्शनमा आएको छ त्यो हो ‘गाजलु’ ।  उनी यो सिनेमामा पनि सोझी युवतीको भूमिकामा थिइन् । यसका अलावा उनले ‘बाँध मायाले’मा पनि काम गरेकी छिन् जसको टिजर केही दिनअघि मात्रै सार्वजनिक गरिएको छ । ‘बाँध मायाले’को टिजरमा पनि उनी गाउँले युवतीकै भूमिकामा देखिएकी छिन् । 

यही कारण सृष्टिलाई सबै सिनेमामा एउटै किसिमको भूमिकामा प्रस्तुत भएको प्रतिकृयाहरु आइरहेका छन् । यस विषयमा बोल्दै सृष्टिले हामीसँग भनिन्, ‘मेरो तीन वटै सिनेमाको लुक्स एउटै भएका कारण त्यस्तो सोच्नु भएको होला । तर यी तीनवटै क्यारेक्टरहरु फरक छन् । भन्न त सबै जनाले मेरो सबै क्यारेक्टर फरक छ भन्नुहुन्छ होला तर मेरा यी तीनवटा क्यारेक्टर साँच्चिकै फरक छन् । दर्शकले सिनेमा हेरेपछि थाहा पाउनु हुन्छ ।

तर म अर्को अर्को एउटा प्रोजेक्टमा मोडर्न  गर्लको भूमिकामा प्रस्तुत हुँदैछु । दर्शकले छिट्टै नै मलाई मोर्डन गर्लको भूमिकामा पनि देख्न पाउनु हुन्छ । सायद यसपछि फरक अवतारमा देखिइन् भन्नु हुन्छ कि ।’

सन् २०१२ कि मिस नेपाल समेत रहेकी सृष्टिले बलिवुड गीतमा समेत काम गरेकी छिन् । यस गीतमा उनी विकिनीमा प्रस्तुत भएकी थिइन् जसको खुबै चर्चा भयो । यही गीतको चर्चापछि उनले नेपाली सिनेमामा प्रवेश गरेकी थिइन् । पहिलो सिनेमा ‘गाजलु’बाट सफलता पाएकी सृष्टि दोस्रो ‘सिनेमा रोमियो एण्ड मुना’ले पनि सफलता पाउनेमा विश्वस्त छिन् ।


 –उज्यालाे गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया