सल्यानमा एम्बुलेन्स दुर्घटना : चालक र शिशुको ज्यान गयाे

 मंसिर २१, २०७६ शनिबार १८:१२:१९ | पुरुषोत्तम गिरी
unn.prixa.net

फाइल फोटो

सल्यान – छत्रेश्वरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका २ को दहगाउँका एम्बुलेन्स चालक चित्रबहादुर सुनार र नवजात शिशुको ज्यान गएको हो । दुर्घटनामा दंगिशरण गाउँपालिका ५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्का (नवजातु शिशुका आमा र बुवा) घाइते भएका छन् ।  

घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक (सई) रामबहादुर कार्कीले बताउनुभयो । 

प्रहरीका अनुसार नेपालगञ्जबाट सल्यान आउँदै गरेको छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाई काठमाण्डौबाट महेन्द्रनगर जाँदै गरेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको हो । 

शनिबार दिउँसो साढे २ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका २ को जिरो प्वाइन्टमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो । 

छत्रेश्वरी गाउँपालिका १ का वडा सदस्य प्रकाश हमालका अनुसार शुक्रबार दमाचौरबाट एक जना घाइतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो । फर्किने क्रममा दाङ दंगिशरणका सुत्केरी महिला, उनका श्रीमान र बच्चालाई लिएर दाङतर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया