प्रतिनिधिसभा सदस्य नाकामा पहिलाेपल्ट पुग्दा स्थानीयले साेधे- हामी नेपाली नागरिक हाैँ कि भारतीय?

 मंसिर २१, २०७६ शनिबार १८:३४:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - संघीय सांसद मेटमणि चौधरी र गंगा थारु पहिलो पटक दाङ निर्वाचन क्षेत्र नम्बर १ का नाकाहरुकाे स्थलगत अवलाेकन गर्नुभएकाे छ ।

स्थलगत भ्रमणका क्रममा आफ्नो निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने विभिन्न नाकामा पुग्दा र नाकावासीको नाजुक अवस्था देखेर निकै भावुक हुनुका साथै मन भक्कानिएको बताउँदै चौधरीले भन्नुभयो, ‘म पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रका नाकाहरुमा पुगेँ । निर्वाचनको बेला चुनावको प्रचारप्रसारमा समेत आइनँ । नेपालका रुपैडिहा, कृष्णनगर, सुनौली लगायत विकसित नाकाहरू जस्तै मेरो निर्वाचन क्षेत्रका नाकाहरू पनि विकसित भएको परिकल्पना बोकेर नाका हिँडेको थिएँ तर, नाकामा पुग्दा मनै भक्कानियो, मन थाम्न सकिनँ ।’

चाैधरीले आफूसँगै गंगा थारु दाङ निर्वाचन क्षेत्र नम्बर १ का नाकाहरूमा निर्वाचनपछि दुई वर्षपछि स्थलगत अवलोकनको लागि पहिलोपटक पुगेको बताउनुभयाे ।

यस्तै प्रतिनिधिसभा सदस्य गंगा थारुले समृद्ध नेपाल र सुखी नेपालको नारालाई आत्मसात गरी आफूहरुले नाकाको विकास गर्न आफ्नो निर्वाचन क्षेत्रका नाकामा स्थलगत अवलोकन गरी विकासका योजनाहरू लिन आएको जानकारी गराउनुभयो ।

उहाँले नेपालमा समृद्धि र विकास नभए कै कारण अहिले दुई तिहाइको सरकार देशले पाएको जानकारी गराउँदै दाङकाे निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सम्पूर्ण नाका र नाकावासीको समस्यासँगै सीमा सुरक्षाको विषयमा केन्द्रीय सरकारसँग छलफल गरी दिर्घकालीन रूपमा सिमानामा सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य नाकामा पुग्दा नाकावासी दंग

राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका निवासी हेमराज गिरी पहिलोपटक प्रतिनिधिसभा सदस्य नाकामा पाउँदा दंग पर्नुभयो । चुनावपछि  दुइजना प्रतिनिधिसभा सदस्य आफ्नाे ठाउँमा पाउँदा नाकावासीहरुले सांसदलाई घेरा नै हालेका थिए  ।

‘माननीय ज्यू, नाकामा आउन ढिला गर्नुभयो, पटौलि, बरूवा, विसखब्रि, सिरिया, सुकौलि र गुरूङनाकालाई सेन्टरमा राखेर पक्की कालोपत्रे गरिदिनु पर्‍यो ।

पटौलीनाका सेन्टर हुँदा ६ वटा नाकाहरुको समस्या समाधान हुने भन्दै पहिलेकाे बेला गाविस र पटौलिनाका जोड्ने बाटो सञ्चालन हुँदा भारतको मुख ताक्नु नपर्ने आफूहरु स्वतन्त्र भएर सिमानमा बाच्न सक्ने स्थानीयकाे भनाइ थियाे ।

नेपालमा बसेर भारतको सिम प्रयाेग गर्नुपर्ने भन्दै स्थानीयले आफूहरुले शिक्षा, स्वास्थ्य, यातायात, खानोपानी, सञ्चार तथ विद्युत् मैत्री कहिले पाउँछाै भनेर प्रश्न गरे ।

‘दैनिक उपभाेग्य सामान लिन भारततर्फ जाँदा सिमानामा भारतीय एसएसबीले धम्की दिन्छन्, नाकामा पुरै सुरक्षाकर्मी चाहियो’, स्थानीले माग गरे ।

राजपुर गाउँपालिका वडा नम्बर-६, खांग्रानाका केशव यापाले नाकावासी आफूहरु ‘नेपाली नागरिक हाे कि भारतीय?’ भन्दै प्रश्न गर्नुभयाे ।

नाकाको स्थलगत अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी र गंगा थारुले कोइलावासदेखि भौवा नाकासम्म पक्की कालोपत्रे सहित सिमाना सडक निर्माण गर्ने र नाकावासीलाई हुलाकी राजमार्ग भित्र पार्ने आश्वासन दिँदै त्यस अनुरुप कामा भइरहेकाे बताउनुभयो ।

सीमा क्षेत्र जंगलमा बसेका नेपाली नागरिकलाई जग्गासहित लालपुर्जा हस्तान्तरण गर्ने विधेयक पास भएको छ । नाकामा डीप बोरिङ्गमार्फत ३ वर्षभित्र घर–घरमा स्वच्छ खानेपानीको धारा पुर्‍याउने केन्द्र सरकारकाे रहेकाे पनि प्रतिनिधिसभा सदस्य चौधरीले जानकारी गराउनु्भयो ।।

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया