डाक्टर केसीलाई सेनाकाे हेलिकप्टरबाट काठमाडौं लगियो

 साउन ३, २०७५ बिहिबार १५:५४:३२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डाक्टर गोविन्द केसी काठमाडौं जानु भएको छ । 

डाक्टर केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं लगिएको हो । यसअघि डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने बताउनुभएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको  थियो । 

अस्पताललाई प्रशासनले युद्धभूमिजस्तो बनाएको र अस्पतालमा धेरै क्षति भएकाले आफू काठमाडौं जान तयार भएको डाक्टर केसीले बताउनुभयो । अस्पतालमा आफ्ना समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै डाक्टर केसीले त्यसलाई रोक्न आफू काठमाडौं जान तयार भएको पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले अस्पताल परिसरबाट बाहिर निस्कने क्रममा भावुक हुँदै आफ्नो सत्याग्रह जहाँ भए पनि जारी रहने बताउनुभयो । 

यसैगरी केसीको अवस्था बुझ्ने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गहृमन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी जुम्लामा आउनु भएको छ ।  उहाँहरुलाई छिर्न नदिएपछि  प्रतिष्ठानबाट फर्किनु भएको थियो ।

डाक्टर केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड सुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया