लागुऔषध बनाउने रसायनसहित एक चिनियाँ नागरिक पक्राउ

 मंसिर २२, २०७६ आइतबार १६:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरीले लागुऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध बनाउने ४ किलो २ सय ग्राम रसायन इफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको रसायनसहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताउनुभयो । उहाँले काठमाण्डौको एक कार्गोबाट न्युजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम जाँच गर्दा फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार न्युजिल्याण्ड पठाउन लागिएको रसायन लागुऔषध एम्फेटामिन बनाउन प्रयोग गरिने र चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरेर न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा बिक्री गर्न लागिएको हाे ।

प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोइफेड्रिन ट्याब्लेट ४७१.८८ केजीसहित आर्य फर्मास्युटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया