भिजिट नेपाल २०२० की सद्भावना दूत चिनियाँ अभिनेत्री बर्दियामा

 मंसिर २४, २०७६ मंगलबार ९:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया - चिनियाँ फिल्म अभिनेत्री तथा भिजिट नेपाल २०२० की सद्भावना दूत सु छिङ बर्दिया आउनु भएको छ । उहाँ शनिबार सद्भावना दूतको रूपमा अवलोकनका लागि बर्दिया आउनु भएको हो । 

सु छिङले शनिबार बर्दिया बाँसगढी नगरपालिकाको केदारेश्वर धाम, बर्दिया नगरपालिकाको सत्खलुवाताल होमस्टे, बर्दिया निकुञ्ज लगायतका क्षेत्रहरुको अवलोकन गर्नु भएको छ । 

बर्दियामा रहेका प्रमुख पर्यटकीय गन्तव्य ठाकुरद्वारा, कृष्णसार, खाता जैविकमार्ग र बढैयाताल लगायतका क्षेत्रको प्रचारप्रसार गर्न उहाँ त्यस क्षेत्रमा पुग्नुभएको हो । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोला, बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतले सद्भावना दूत सु छिङको स्वागत गर्नुभएको थियो । 

यस्तै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले पनि छिङलाई बर्दियाको भुरीगाउँमा स्वागत गर्नु भएको थियो । उहाँले ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बताउँदै विभिन्न जनावरहरुको अवलोकन गर्न सकिने बताउनुभयो । 

बर्दियाको पर्यटन प्रर्वद्धनका लागि बर्दिया आउनु भएकी अभिनेत्री सु छिङले नेपाल र चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया