आजदेखि किम्फ : २९ देशका ६६ चलचित्र

 मंसिर २५, २०७६ बुधबार ७:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ आज (बुधबार) देखि काठमाण्डौमा सुरु हुँदैछ । 

महोत्सव राष्ट्रिय सभागृहमा दिउँसो १२ बजे उद्घाटन हुने कार्यक्रम छ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने महोत्सव २९ गतेसम्म सञ्चालन हुने आयोजक हिमाल एसोसियशनले जनाएको छ । किम्फले यस पटकको महोत्सवमा सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ । 

यसपटक किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेकोमा त्यसबाट छानिएका १० उत्कृष्ट चलचित्रहरु पनि प्रदर्शन गरिनेछन् । 

महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन गरिनेछ । स्वीस कथानक चलचित्र ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । यस्तै फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिनेछ । 

२९ देश, ६६ चलचित्र

किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए । तीमध्ये २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् ।
प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन् । यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको 'आमा खान्डो', गणेश पाण्डेयको 'हसबेन्ड', निपिल शर्माको 'अतिसर्ग', केदार श्रेष्ठको 'जुनुको जुत्ता' लगायतका चलचित्र रहेका छन् ।

यस पटक किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेकोमा त्यसबाट छानिएका १० उत्कृष्ट चलचित्रहरु पनि प्रदर्शन गरिनेछन् ।

यस पटक महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन गरिनेछ । स्वीस कथानक चलचित्र ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । 

यस पटक निर्णायक मण्डल (ज्यूरी) मा फिल कोट्स (बेलायत), जे. क्यूली (कोरिया), ग्याब्रियला कुह्न (पोल्याण्ड) रहेका छन् । किम्फ २०१९ मा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन पनि गरिनेछ ।

हिउँ चितुवा संरक्षणसम्बन्धी कथावाचन

यस पटक महोत्सवमा चलचित्र प्रदर्शनी सँगसँगै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी कथावाचन कार्यक्रम आयोजना हुनेछ ।

जसमा घनश्याम गुरुङ, समन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् । त्यस्तै महोत्सवमा प्लान इन्टरनेशनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुनेछ ।

चर्चित चलचित्रकर्मीद्वारा मास्टर क्लास

यसपटक ब्रिटिश काउन्सिलको तर्फबाट प्यानल डिस्कसन र फिल्म प्रदर्शनी गरिनेछ । त्यस्तै एसियन कला संग्रहालयबारे आङ छिरिङ शेर्पाको मास्टरक्लास र साहसिक फिल्म निर्माणसम्बन्धी मास्टरक्लास माइकल डिलनले सञ्चालन गर्नेछन् । 

किम्फ सन् २००८ देखि इन्टरनेसनल एलायन्स फर माउन्टेन फिल्म नामक अन्तर्राष्ट्रिय संगठनको सक्रिय सदस्य रहँदै आएको छ । यस अन्तर्राष्ट्रिय संगठनमा २० देशका २६ वटा माउन्टेन फिल्म फेस्टिभलहरू सदस्य रहेका छन् र यसको मुख्यालय इटलीको टुरिन शहरमा रहेको छ।

पुरस्कारमा वृद्धि

यस पटकदेखि पुरस्कार राशीमा वृद्धि गरी अन्तर्राष्ट्रिय विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने चलचित्रलाई क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैया दिने व्यवस्था गरिएको छ । त्यस्तै ‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन) चलचित्रलाई क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । गैरकथानक विधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।

विगतका महोत्सवहरुमा पर्वतारोही दा गोम्बु (भारत), डग स्कट (बेलायत), हरिश कपाडिया (भारत), नाजिर सवीर (पाकिस्तान), ब्रिजिट मुइर (अष्ट्रेलिया), डेविड व्रेसियर (संयुक्त राज्य अमेरिका), जोन पोर्टर (बेलायत), जोन इनरडेल (बेलायत) जस्ता विख्यात पर्वतारोहीहरु तथा स्वीस भूगर्भविद् टोनी हेगन, नेपालका विद्वान डा. हर्क गुरुङ, डा. तीर्थबहादुर श्रेष्ठ आदिको सहभागिता रहेको थियो ।

किम्फ : त्यहाँदेखि यहाँसम्म   

हिमाल एसोसिएशनले सन् २००० मा पहिलो पटक काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आयोजना गरेको हो । किम्फको पहिलो संस्करणको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । त्यसयता किम्फका १६ संस्करण सम्पन्न भइसकेका छन् ।

किम्फको सुरूका चार संस्करण (सन् २०००-२००६०) दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता किम्फ प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ ।

सन् २००७ देखि किम्फलाई प्रतियोगितात्मक स्वरूप प्रदान गरियो र अन्तर्राष्ट्रिय खण्डमा प्रथम, द्वितीय र तृतीय हुने चलचित्रलाई क्रमशः डेढ लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार दिने चलन थालियो ।

त्यसै वर्षदेखि युवा नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘नेपाल पानोरामा’नामक नयाँ खण्डको सुरुवात गरियो ।

किम्फका सुरूका चार संस्करण रुसी साँस्कृतिक केन्द्रमा सम्पन्न भएको थियो भने सन् २००७ देखि २०१३ सम्म राष्ट्रिय सभागृहमा यसको आयोजना गरियो । सन् २०१४ मा सार्क शिखर सम्मेलन काकारण राष्ट्रिय सभागृह उपलब्ध नभएपछि किम्फका चार संस्करण ९सन् २०१३-२०१७० कुमारी हलमा आयोजना गरिएको थियो ।

सन् २०१८ मा किम्फ पुनः राष्ट्रिय सभागृह फर्किएको हो र यस वर्ष पनि राष्ट्रिय सभागृहमै यसको आयोजना हुनेछ । दोस्रो प्रदर्शनीस्थलका रूपमा नेपाल पर्यटन बोर्डको अडिटोरियम उपयोग गरिनेछ ।

किम्फ : नेपाली चलचित्रकर्मीलाई विश्वसामु पुर्‍याउने मञ्च

किम्फले धेरै युवा नेपाली चलचित्रकर्मीहरुलाई चिनारी गराउने र मञ्च प्रदान गर्ने काम गरेको छ । दिपक रौनियार, मीनबहादुर भाम, मोहन मैनाली, ध्रुव बस्नेत, केसाङ छेतेन, दिपेन्द्र भण्डारी, रमेश खड्का, भोजराज भाट, गणेश पाण्डे, देवकी विष्ट, पूजा गुरुङ, अस्मिता शिरिष, प्रदिप पोखरेल, सेनाङ ग्यान्जो तामाङ केही यस्ता नाम हुन् ।

दिपक रौनियारको पहिलो सर्ट फिल्म ‘चौखेट’ किम्फमै रिलिज भएको थियो । मीनबहादुर भामको ‘बाँसुल्ली’ नामक सर्ट फिल्म पनि पहिलो पटक किम्फमै प्रदर्शित भएको थियो ।

किम्फमा पुरस्कृत नेपाली फिल्महरु विश्वका विभिन्न चलचित्र महोत्सवहरुमा जाने गरेका छन् । भोजराज भाटको ‘सुनाकली’ संसारभरका सयवटा भन्दा बढी र गणेश पाण्डेयको ‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री चालीस वटाभन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शन भइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया