मकवानपुरमा माेटरसाइकल र टिप्परकाे ठक्करबाट २ जनाकाे ज्यान गयाे

 मंसिर २५, २०७६ बुधबार १०:१९:९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा सवारी साधनको ठक्करबाट मंगलबार राति दुई जनाको ज्यान गएको छ । 

हेटौँडा उपमहानगरपालिका ९ र मकवानपुरगढीमा सवारी साधनको ठक्करबाट दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

हेटौँडा ९ को पशुपति नगरमा रहेको नेपाल बैंक अगाडि मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले एक जना महिलालाई ठक्कर दिएको थियो । 

एसपी सिंहका अनुसार महिलाको परिचय खुलेको छैन । उपचारको लागि हेटौँडा अस्पताल लगेपछि अस्पतालले मृत घोषणा गरेको थियोे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका ६ का कञ्चन ठाकुरको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका १० की ३५ वर्षीया सर्मिला थापा मगरको हातखुट्टामा चोट लागेको छ । घाइते दुवै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका ४ को मक्रान्चुली नजिक टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मंगलबार राति मकवानपुगढी गाउँपालिका ४ को मनकामना मन्दिर जाने सडक खण्डमा बा ४ ख ६३५५ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय दिपक पाख्रिनको ज्यान गएको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा ज्यान गएपछि स्थानीयले टिप्परमा तोडफोड गर्नुका साथै प्रदर्शन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया