बाटोमा खुट्टा पटक्क, अस्पतालमा मन कटक्क !

 साउन ३, २०७५ बिहिवार १८:४३:३८ | मिलन तिमिल्सिना

दसा बाजा बजाएर आउँदैन भन्थे । मलाई यसपालि यस्तै भयो । अफिसबाट घर आइपुग्नै लाग्दा बाटोमा खुट्टा चिप्लियो । दाहिने खुट्टाको कुर्कुच्चा मुनिको भाग फर्केर पडक्क आवाज आयो । 

‘ऐया नि मरेँ, मेरो खुट्टो भाँचियो’ रुन्चे हाँसो हाँस्दै म कराएँ । खै के भयो भन्दै श्रीमती आइपुगिन् । म दाहिने खुट्टा टेक्न नसकेर त्यहीँ बसें । त्यति धेरै नदुखेकोले मर्केको मात्रै होला जस्तो लाग्यो । ‘मर्केको हो, म औषधी लगाइदिन्छु’ भन्दै श्रीमतीले डोहोर्याउँदै घर लगिन् र औषधी खोज्न लागिन् । म खुट्टा हेर्दै बसें ।

कुर्कुच्चा र औंलाको बीचको भाग सुनिंदै आयो । दुख्न त दुख्या छैन, तर सुन्नियो । एकपटक अस्पताल नै जानु पर्ने भयो । तर कसरी ? आफू हिँड्न सक्दिन । नजिकै ट्याक्सी पाईंदैन । साँझ पर्न लागेको छ । पल्लोघरका दिदी भिनाजु पनि अफिसबाट आइपुग्नुभयो । 

ए ल एकपटक अस्पताल जानुपर्छ भनेर भिनाजुले मोटरसाइकल झिक्नुभयो । मोटरसाइकल चढेर कीर्तिपुर अस्पताल पुग्यौं ।

अस्पतालको आकस्मिक कक्ष सुनसान छ । सबै बेड खाली छन् । सोधपुछ कक्ष भनेर लेखिएको ठाउँमा सेतो कोट लगाएर बसेका युवायुवती फुटबलको कुरा गर्दै थिए । ‘के भयो ? ए पहिले एक्सरे गरेर हेरौं है त’ भन्दै एउटाले बिल काटे । भिनाजु पैसा तिर्न जानु भो । 

‘ए भाइ उहाँलाई ह्वीलचेयरमा हालेर एक्सरे गरेर लेराउ त’ सेतो कोट लगाएका एकजनाले नजिकै रहेको अर्कोलाई भने । ह्वीलचेयरको कुरा सुनेर म झसँग भएँ । 
‘ए सर म हिँडेरै जान सक्छु । ह्वीलचेयरमै जानुपर्ने बिरामी होइन’ मैले भनें । 

‘तपैँले भनेर हुन्छ ? हिँड्न हुँदैन’ भन्दै उनले जबर्जस्ती गरे । मलाई अब चाहिँ साँच्चै नै ठूलै बिरामी भएछु जस्तो लाग्यो ।

एकछिनपछि एक्सरेको रिपोर्ट आयो । बिल काट्ने एकजनाले तलदेखि माथिसम्म एक्सरे हेरे । केही बुझेनछन् । ‘ए यता आउनुहोस् त’ अर्कोलाई बोलाए । दुबैले कानेखुसी गरे । अलिकति फ्याक्चर भएको जस्तो छ । अहिले हाफ प्लाष्टर गरेर पठाइदिने । भोलि फेरि बोलाएर फुल प्लाष्टर गर्ने । 

‘यो अस्पताल यस्तै हो । जम्मै अलारे र सिकारु हुन्छन् । हाडजोर्नीको डाक्टर छैनन् होला अहिले, भोलि फेरि आउनुपर्ला’ भिनाजुले भन्नुभयो ।

‘हैन डाक्टर साब फ्याक्चर भएकै हो र ?’ मैले सोधें । सेतो कोट लगाएको देखेपछि डाक्टर भन्नैपर्यो । तर यतिबेलासम्मको गतिबिधि देखेर उनीहरु विशेषज्ञ डाक्टर नभएर सिकारु हुन् भन्ने थाहा भैसकेको थियो ।

‘अलिकति हो जस्तो लाग्छ । भोलि थाहा हुन्छ’ उनीहरुले भने ।

‘कहाँ भोलि थाहा भएर भयो त ? अहिल्यै थाहा पाउन पाए पो’ मैले भनें ।

‘अहिले त हाडजोर्नीको डाक्टर हुनुपर्यो नि’ उनीहरुले भने ।

‘डाक्टर नभएको भए किन एक्सरे गर्न लगाएको त ?’ भन्न लागेको थिएँ, त्यहीबेला हेर्दा डाक्टरैजस्ता देखिने अर्का व्यक्ति आइपुगे ।

उनलाई देखेर अघिदेखि त्यहाँ बसिरहेका सेता कोटधारी दंग परे । 

‘ए हजुर हुनुहुँदो रहेछ नि ? नाइट ड्युटी हो ?’ एउटाले सोधे ।

‘अँ हो । अघिदेखि नै थिएँ नि’ उनले भने ।

‘ल ल यो एक्सरे हेरिदिनुपर्यो’ उनीहरुले एक्सरे देखाए । 

‘मैले थोरै फ्याक्चर भएको छ भनें, मिल्यो नि हैन’ सेतो कोटभित्र फ्रान्सको जर्सी लगाएका एकजनाले मख्ख हुँदै सोधे । आज त फ्रान्सले जित्छ है भन्दै उनी एकछिन अघिसम्म फुटबलको कुरा गर्दैथिए ।

‘हो...ए ल तपैंको फ्याक्चर नै भएछ । अहिले हाफ प्लास्टर गर्ने । ५ दिनपछि आउनुहोस्, अनि हेरेर फूल प्लाष्टर गर्नुपर्ने हुन्छ’ ती डाक्टरले मतिर हेरेर भने ।

डाक्टरको कुरा सुनेर मन कटक्क खायो । यति ठूलो भएको जस्तै लागेको थिएन । लडेको पनि होइन, लड्न खोजेको मात्र । हरे के दसा लागेछ भन्ने भयो । तैपनि डाक्टरले भनेको मान्नेबाहेक अर्को उपाय थिएन । 

प्लास्टर गरेर घर आउँदा रातको १० बज्न लागिसकेको थियो । लौ ख्यालख्यालमै यस्तो भयो भनेर फेसबुकमा राख्ने बित्तिकै फोन आउन थाल्यो । 

‘बाबु के भयो ? म झन् उपचार गर्न आउनुपर्ने बेला भएको छ, उपचार गर्ने छोरो नै बिरामी भयो ?’ आमा रुन खोज्नुभयो । केही भएको होइन भनेर आमालाई सम्झाएँ । 

५ दिनसम्म हो, त्यसपछि त हिँड्न सकिन्छ, फूल प्लाष्टर गर्न पर्दैन भन्नेमा मन ढुक्क थियो । 

बल्लबल्ल ५ दिन बित्यो । आजदेखि त सजिलै हिँड्न मिल्छ भन्ने मनमा लागिरहेको छ । शम्भु काकाले अफिस जाने बेला अस्पतालमा लगेर छोडिदिनुभयो । अस्ति भेटेका डाक्टर थिएनन् । अर्कै थिए । उनले एक्सरे र खुट्टा एकसाथ हेरे । 

‘ल अब पूरा प्लाष्टर गर्नुपर्छ’ उनले भने । 

‘डाक्टर साब एकपटक एक्सरे गरेर हेरौं न, ठीक भैसकेको हुनुपर्छ’ मैले आग्रह गरें ।

मेरो कुरा सुनेर डाक्टर हाँसे । ‘फ्याक्चर भएको छ, कहाँ अहिल्यै ठीक हुन्छ ? अस्ति तपाईंको हाफ प्लास्टर मात्र गरेको हो, अब फूल गर्ने’ उनले भने । 

अनि अस्ति गरेको प्लास्टर चरचर कैंचीले काटे । ५ दिनअघि प्लास्टर गर्ने बेला अर्का डाक्टरले अलि महंगो खालको ब्यान्डेज किन्नुहोस् है, हिँड्न सजिलो हुन्छ, पछि प्लास्टर गर्नुपर्यो भने पनि त्यही माथि गर्ने हो भनेका थिए । तर यी डाक्टरले त सबै प्लास्टर चरचर काटेर फाले । प्लास्टर काट्ने बेला फेरि मन कटक्क गर्यो ।

प्लास्टर काटेपछि बिल काटे । ‘ल सामान लेराउनुहोस, प्लास्टर गरेको चार्ज तिर्नुहोस्, अनि आउनुहोस्’ भनेर पठाए । अरु सामानबाहेक प्लास्टर गरेको चार्ज १२ सय रुपैयाँ लाग्दो रहेछ । पैसा तिर्ने ठाउँमा त चुप लाग्नै पर्यो ।

डाक्टरलाई प्लास्टर गर्ने बेला सोधें, ‘डाक्टर साहेब प्लास्टर गरेको चार्ज कति महंगो है ?’ 

‘कति...? जम्मा १२ सय ? यति नि महंगो हुन्छ’ डाक्टर हाँसे ।

उनले पुरै प्लास्टर गरिदिए । अनि एक महिना खुट्टा तेर्साएर बस्न सल्लाह दिए । ‘डाक्टर साब खुट्टा तेर्साएर कहाँ खान पुग्छ ?’ पीडा नै भएपनि मैले ठट्टा गरें । डाक्टरले हाँस्दै भने, ‘काम गर्न जाँदा नि हुन्छ, तर खुट्टा तेर्साएरै काम गर्नुहोस् ।’

अब त हिँड्न मिल्ला भनेर मख्ख परेर अस्पताल आउँदा अर्को पीडा थपियो । अलि मजाले लडेर खुट्टा फ्याक्चर भएको भए पनि अलि सन्तोष हुन्थ्यो ।

ख्यालख्यालमै लडेर घरमा बस्नुपर्दा दिन बिताउन निकै गाह्रो भयो । खुट्टा तेर्साएर लेख्न पनि अप्ठेरो, खान पनि । हिँड्नै नसक्नेहरुको दिन कसरी बित्दो हो जस्तो लाग्छ । 

घर नजिकै एकजना ९५ वर्षको हजुरआमा र उहाँकै घरमा प्यारालाइसिस भएकी एकजना दिदी बस्नुहुन्छ । उहाँहरु पानी नपरेको दिन बेलुकीपख घर वरपर लौरो टेकेर मुश्किलले पाइला सार्नुहुन्छ । 

बैशाखी टेकेर र ह्वीलचेयर गुडाएर हिँड्नेहरु सडकमा कति धेरै देखेको छु । हिँड्नै नसकेर घरभित्रै बस्न बाध्य भएकाहरुलाई पनि चिनेको छु । खुट्टाले अलिदिन थोरै काम नगर्दा त मलाई यस्तो अप्ठेरो लाग्छ, उनीहरुलाई कस्तो हुँदो हो ?

अहिले दिनभरी बस्दा मुश्किलले पाइला सार्ने घर नजिकका हजुरआमा र दिदी, अनि बाटोमा देखेका उनीहरु सबैको सम्झना आइरहन्छ ।

अन्तिम अपडेट: असोज ६, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया