आठाैँ नेपाल साहित्य महाेत्सव पाेखरामा सुरु : ९८ प्रतिशत नयाँ अनुहार

 मंसिर २७, २०७६ शुक्रबार ८:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको वाराही चोकमा शुक्रबारदेखि आठौँ नेपाल साहित्य महोत्सव सुरु भएको छ । बुकवर्म फाउण्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा सुरु भएको साहित्य महोत्सव मंसिर ३० गतेसम्म चल्नेछ । 

पर्यटकीय नगरी लेकसाइडको फेवातालको किनारमा हुने महोत्सवमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । महोत्सवका निर्देशक अजित बरालले फेस्टिबलमा यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई समेटिने बताउनु भयो । योभन्दा अगाडि पुरानै अनुहार दाहोरिएको सुझावलाई मध्यनजर गरी यो वर्ष केही सुधार गर्न खोजेको उहाँको भनाइ थियो ।

४ दिनसम्म चल्ने महोत्सवको उद्घाटनमा पूर्व अर्थ मन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचन रहने बरालले बताउनु भयो ।

र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गर्नुभएको छ । यो महोत्सवले पोखराको पर्यटनमा टेवा पुग्ने पनि उहाँको भनाइ थियो । पोखरामा आयोजना हुँदा साहित्यमा नवप्रवेशीहरुलाई पनि धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।

५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको यो महोत्सव सुरुमा पर्यटन बोर्डको परिसरमा भएको थियो । त्यसपछि भने लेकसाइडको वाराही चोकमा हुँदै आएको छ ।

महोत्सवको ८ औं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो ।

यो पुरस्कार नेपाली साहित्यकारको लागि पनि नजिकको पुरस्कार भएको बरालले बताउनुभयो । 

यस पुरस्कारको शर्ट लिस्टमा अमिताभ बग्चीको ‘हाफ द नाइट इज गोन’, जमिल जान कोचाइको  ‘नाइन्टी नाइन नाइट्स इन लोगार’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘देअर इज अ गनपावडर इन द एअर’, राजकमल झाको ‘द सिटी एण्ड द सी’ र सदिआ अब्बासको ‘द एम्प्टी रुम’ रहेका छन् ।

कार्यक्रम तालिका हेर्नुस्-

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया