प्रहरी जवान आचार्यलाई प्रदर्शनकारीले हानेको चिर्पटले लागेको हो : नेपाल प्रहरी

 साउन ३, २०७५ बिहिबार २०:२४:५१ | उज्यालो सहकर्मी

काठमाडौं– नेपाल प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा प्रहरीले गोली नचलाएको स्पष्ट पारेको छ । 

बिहीबार प्रहरी महानिरीक्षकको सचिवालयमार्फत सार्वजनिक प्रेस विज्ञप्तिमा प्रहरी जवान कमल आचार्यलाई गोली नलागेको स्पष्ट पारेको हो ।  विज्ञप्तिमा आचार्यलाई प्रदर्शनकारीले चिर्पटले प्रहार गरेको त्यही चिर्पटमा रहेको किला छातीमा गडेर गम्भीर घाइते भएको जनाएको छ । 

साथै नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रहरीकै गोली लागि एक जना प्रहरी जवानको मृत्यु भएको समाचार सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ । 

समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्ने र मृत्युजस्तो मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि समेत नगरी समाचार सम्प्रेषण गर्दा सम्बन्धित संगठन र परिवारप्रति मानसिक तथा भावनात्मक आघात पुगेको विज्ञप्तिमा जनाइएको छ । 

झडपमा परि गम्भीर घाइते भएका प्रहरी जवानको जुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नेपाल प्रहरीकाे विज्ञप्ति


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया