‘चिनूक’ हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गरिँदै

 मंसिर २७, २०७६ शुक्रबार १६:९:५ | शंकर धामी
unn.prixa.net

दार्चुला – भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ । 

पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् । 

गएको सोमबार पिथौरागढको आकाशमा ‘चिनूक’ हेलिकोप्टरले धेरैपटक चक्कर लगाएको खबर भारतीय पत्रिका ‘हिन्दुस्तान’ दैनिकले सार्वजनिक गरेको छ । एमआई १७ हेलिकोप्टरभन्दा पनि ठूलो साइजको चिनूक हेलिकोप्टरमार्फत तीन हप्ता पहिले पनि ठूला मेसिन गुञ्जी र कालापानी क्षेत्रमा ढुवानी गरिएका थिए । 

भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ । 

मंसिर पहिलो हप्ता पनि छतमा दुइटा पंखा भएको ठूलो हेलिकोप्टरले गुञ्जीसम्मको क्षेत्रमा चक्कर लगाएको व्यास गाउँपालिका ४ सुन्सेराको स्थानीय पत्रकार मान सिंह कुँवरले बताउनु भयो । ‘हेलिकोप्टरको छतमै दुइटा पंखा थिए, ठूलो आवाज आइरहेको थियो, हेलिकोप्टरको तलतिर गाडी जस्तै मेसिन झुण्डिएको थियो’, पत्रकार कुवरले भन्नुभयो । ३-४ दिनसम्म दैनिक धेरैपटक उक्त हेलिकोप्टरले यस्ता मेसिन बोकेको उहाँको भनाइ छ । 

‘चिनूक’ हेलिकोप्टरको भित्र पनि ठूल्ठूलो सामग्री राख्न मिल्छ । खासगरी सामग्री ढुवानीमै यस्तो हेलिकोप्टरको प्रयोग हुने गरेको छ । गएको अक्टुबर २५ तारिखमा पनि चिनूक हेलिकोप्टरले पिथौरागढको आकाशमा चक्कर लगाएको थियो । 

नोभेम्बर महिनाको पहिलो हप्तामा धारचुलासँगै जोडिएको मुनस्यारी तहसिल क्षेत्रमा पनि ‘चिनूक’ हेलिकोप्टरले उडान भरेको थियो । भारत–चीनको सीमा क्षेत्रमा सैनिक सामग्री ढुवानीमा हेलिकोप्टरको प्रयोग भएको सैनिक सूत्रलाई उद्धृत गर्दै ‘हिन्दुस्तान’ दैनिकले समाचार छापेको छ ।

खराब मौसममा पनि चिनूक हेलिकोप्टरले उडान भर्न सक्ने जनाइएको छ । पिथौरागढको हवाई मैदानदेखि धारचुला हुँदै गुञ्जीसम्मको क्षेत्रमा वायुसेनाका चिता र एमआई १७ हेलिकोप्टरले दिनहुँ चक्कर लगाउने गरेका छन् । 

केही महिनाअघि मात्रै सञ्चालनमा आएको पिथौरागढको नैनीसैनी हवाई मैदान नेपाल र चीन सीमा नजिकको सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ । नैनीसैनी हवाई मैदानमा ७२ सिटे सैनिक विमानको सफल अवतरणको अभ्यास भइसकेको छ । नैनीसैनी हवाई मैदानबाट देहरादून, पन्तनगर र दिल्ली नजिकको हिडनसम्मको हवाई सेवा सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया